चितवन । माडीको हनुमानझुला र पर्साको ठोरी क्षेत्रमा जंगली हात्तीले केहि घरहरु भत्काउनुका साथै जनजीवन आतंकित बनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट निक्लिएको हात्तीले माडी न.पा.-९ (प्रस्तावित वडा नं. १०), हनुमानझुलामा केहि घर भत्काउनुका साथै ठोरी गा.पा.-१, चौतारा बजारमा जनजीवन आतंकित बनाएको हो ।
हात्तीले हनुमानझुला, प्लट नं. १ निवासी रामचन्द्र कुमाल घर भत्काएको हो भने विशाल ठकुरीको घरभित्र रहेको अन्नबाली क्षती गरेको वडा सदस्य बिना थापाले जनाउनुभयो ।
माडी तथा ठोरी क्षेत्रमा आउने हात्तीले स्थानीयबासीहरुले लगाएका धान लगायतका खेती खाएर निरन्तर विनाश गर्दै आएको छ भने घर भत्काएर सन्त्रास मच्चाउने गरेको छ । यस क्रममा कहिलेकाँही मानवीय हताहती समेत हुनेगरेको छ ।
राष्ट्रिय वनसंग जोडिएको बाँदरझुला क्षेत्रलाई चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमित क्षेत्रका रुपमा सुचिकृत गरेकाले सो गाउँ क्षेत्रमा सोलार फेन्स लगायतका सुरक्षाका कुनैपनि उपाय जडान भएको छैन ।

