चितवन । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा आजदेखि पानी सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
संस्थाका अध्यक्ष माधवप्रसाद अर्यालले दुई दिने प्रशिक्षण कार्यक्रमको एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । कार्यसमितिका पदाधिकारी,सदस्य, लेखा समिति,वडा संयोजक तथा सदस्यहरुलाई पानीको शुद्धता र चुहावट नियन्त्रणका बारेमा प्रशिक्षण दिइएको हो ।
विहीबार वडा नं २, ३, ४, ५ र १३ का वडा संयोजक, सदस्यहरुलाई प्रशिक्षण दिइएको हो । मुहानदेखि मुख सम्म स्वच्छ पानी पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष अर्यालले बताए । कार्यक्रममा पानी सुरक्षाका लागि अपनाउनु पर्ने विधि र चुहावट नियन्त्रणका लागि गर्नुपर्ने प्रयासका बारेमा प्रशिक्षण दिइएको छ ।
कार्यक्रममा संस्थाका इन्जिनियरहरु शिबराज न्यौपाने र ज्ञानप्रकास पौडेलले प्रशिक्षण दिएका छन् । मुहान र ट्याङ्कीको सरसफाई, पाइपलाइन विस्तार र पानी चुहावट लगायतको विषयमा प्रशिक्षण दिइएको संस्थाकी कोषाध्यक्ष तथा खानेपानी सुरक्षा समितिकी संयोजक सरस्वती लामाले जानकारी दिइन ।
शुक्रवार वडा नं १, ९, १०, ११, १२ का वडासंयोजक तथा सदस्यहरुलाई प्रशिक्षण दिइने छ । पानी सुरक्षा समितिकी संयोजक लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम व्यवस्थापक विश्वनाथ पौडेलले सञ्चालन गरेका थिए । ११ हजार ७०० उपभोक्ता रहेको सो संस्थाबाट दैनिक ५४ लाख लिटर पानी खपत हुँदै आएको छ ।

