चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा रहेको नारायणी नमुना माध्यमिक विद्यालयलाई देशकै पहिलो नम्बर उत्कृष्ट बनाउनतर्फ अग्रसर रहेको बताउनुभएको छ ।
विद्यालय स्थापनाको ६० वर्ष पुगेको अवसरमा अयोजित हीरक महोत्सव अन्तरगतको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको १० नम्बरभित्र मात्र नभई १ नम्बर बनाउनतर्फ सबै पक्ष जुटिरहेको उल्लेख गर्नुभयो ।
देशकै महानगरपालिकाले स्थानीय सरकारले हैसियतले समग्र विकास गर्न प्रत्येक वर्ष भौतिक पूर्वाधार निर्माण बजेट विनियोजन हुने गरेको जानकारी दिनुभयो ।
नारायणी नमुना माध्यमिक विद्यालयलाई देशकै उत्कृष्ट विद्यालय भएकोमा गर्व महशुस हुने उल्लेख गर्नुभयो ।
‘नारायणी माविमा भर्ना हुन ठूलो भिड लाग्छ,उहाँले भन्नुभयो,‘भरतपुरका अन्य विद्यालयले यसको अनुशरण गर्नुपर्छ । नारायणी मावि अझै नमुना विद्यालयका रुपमा पहिचान बनाउनु आवश्यक छ । महानगरले आवश्यक सहयोग गर्छ । ’
महानगरपालिका प्रमुख दाहालले विगत ५ वर्षमा सामुदायिक विद्यालयमा ७ हजार विद्यार्थी थप हुनु गर्वको विषय भएको बताउनुभयो ।
महानगरपालिको शिक्षाको गुणस्तर अभिवृद्धिका लागि छात्रावृत्ति, विद्यालयलाई बस वितरण, छात्रालाई साईकल वितरण तथा न्यानो कपडा वितरण गर्ने लगायतका कार्यक्रमहरु निरन्त भइरहेको जानकारी दिनुभयो ।

यसैबीच विद्यालयको हीरक महोत्सवको भोलि शनिबार (अन्तिम दिन) को कार्यक्रमलाई सम्बोधन गर्न नेपाल सरकारका नवनियुक्त प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएसँगै पहिलो पटक प्रधानमन्त्री प्रचण्ड गृह जिल्ला चितवन आउन लाग्नु भएको हो ।
यसैबीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिका सबै भरतपुरबासीको साझा चौतारी भएको बताउनुभएको छ ।
तमु समुदायको नयाँ वर्ष ल्होसारको अवसरमा तुम ह्युल छोजधी राष्ट्रिय परिषद चितवनले भरतपुरको तीन खोले गुम्बामा आयोजना गरेको कार्यक्रममा मेयर दाहालले महानगरपालिकाले सबै समुदायलाई समान दृष्टिकोण र व्यवहार गर्दै आएको उल्लेख गर्नुभयो ।
मेयर दाहालले विगतको कार्यकालमा पनि सबै धर्म, लिङ्ग, क्षेत्रलाई समान व्यवहार प्रस्तुत भएको स्मरण गर्दै उहाँले अहिले पनि त्यसलाई निरन्तरता दिएको जिकिर गर्नुभयो । ‘विगतमा धेरै जसो वडामा गुम्बाहरु निर्माण भएका छन्, उहाँले भन्नुभयो,‘त्यही संख्यामा मन्दिर र मस्जिद पनि निर्माण भएको छ । कसैलाई काखा र पाखा भएको छैन ।’


