चितवन । होटल व्यवसायी संघ चितवन र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवन बीच एकता भएको छ । आज नारायणगढमा कार्यक्रम गर्दै दुई पक्षले एकिकरण भएको घोषणा गरेका हुन् ।
दुवै संघका अध्यक्षले साविक कार्यसमिति भंग भएको घोषणा गरेपश्चात नयाँ तदर्थ समितिको घोषणा गरिएको हो । साविक होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष यज्ञ बहादुर कार्कीले ४ वर्षदेखि अलग रहेका दुई व्यवसाय आजबाट एक हुन गएकोले आफ्नो नेतृत्वको संघ भङ्ग गरिएको घोषणा गरेका थिए । उक्त संघ २०७५ सालमा दर्ता भएको थियो ।
त्यस्तै होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले ४ वर्षदेखि अलग रहेर मतभेद हुँदा प्रसाशकिय क्षेत्रमा अफ्ठ्यारो भएको बताए । व्यवसायलाई नै पर्न गएको हानीलाई मनन गरेर दुवै संस्था एक भएर अगाडि बढ्ने प्रतिबद्ध रहेको उनको भनाई थियो । कार्यक्रमका बीच आफ्नो नेतृत्वमा भएको कार्यसमिति भङ्ग भएको उनले घोषणा गरेका थिए ।
करिब ४ बर्ष अगाडि आापसी मतभेद्को कारण टुक्रिन पुगेका दुई वटा संघ अहिले फेरि एकिकरण भएको घोषणा गरेका हुन् । व्यवसायीहरुको आपसी सहमति पश्चात ६ महिनाको लागि तदर्थ समिती समेत गठन गरिएको होटल व्यवसायी संघका पूर्व अध्यक्ष इमान्दु बरालले जानकारी दिए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघलाई विघटन गर्दै बनेको तदर्थ समितिमा होटल व्यवसायी संघ चितवन २०५३ को विधान रहने बरालले जानकारी दिए । २०८० को जेठ सम्ममा साधारण सभा र महाधिवेशन गरिसक्नुपर्ने उनले बताए ।
केशव हड्खोलेको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा यज्ञ बहादुर कार्की, महासचिव सुरेन्द्र केसी, सचिव भवानी खनाल, कोषाध्यक्ष राजकुमार श्रेष्ठ र सह–कोषाध्यक्ष राजन श्रेष्ठ रहेका छन् । कानुनी सल्लाहकार ३ जना रहेका छन् । ९ वटा इकाइ रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष केशव खड्खोलेले होटल व्यवसायीले शिर निहुराउन नपर्ने गरि काम गर्ने बताए । एकिकृत अधिवेशन सम्पन्न गरेर सबै होटल व्यवसायी एउटै छातामुनी रहने वातावरण निर्माण गर्ने उनको भनाई थियो । ‘होटल व्यवसायी संघ चितवनको सदस्य हुँ भनेर गर्व गर्ने वातावरण बनाउनेछु,’ उनले भने ।
उक्त कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका संस्थापक अध्यक्ष चिरञ्जिवि शर्माले एउटै स्वार्थ बोकेका फरक संघहरु एक हुनुपर्ने आफ्नो पनि पहिल्यै देखिको चाहाना भएकोले खुसी भएको बताए । ‘विभाजनले कसैलाई फाइदा हुँदैन । एकिकरण मजबुद भयो भने उवासंघलाई पनि फाइदा हुन्छ, एउटै निर्णयका साथ हामी एक हुँदै छौ,’ उनले भने ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवम् उवासंघका अध्यक्ष चुननारायण श्रेष्ठले ऐतिहासिक दिनको रुपमा दुई संस्थाको एकिकरणलाई लिएको बताए । दुई पक्षका बीच रहेका असहमतिलाई खुलस्त राखेपछि एकजुट हुने वातावरण निर्माण भएको भन्दै नयाँ कार्यसमितिलाई उनले बधाई दिए ।
‘‘छुट्टिदा अवसर गुमाउनु परेको थियो अब निजि क्षेत्रका कुराहरु पनि राष्ट्रिय क्षेत्रबाट कम्पन आउने खालका हुनुपर्यो,’ उनले भने, ‘प्राविधिक वा जुनसुकै सहयोगको लागि हामी सधैँ तयार छौँ ।’
होटल व्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष जीवलाल सापकोटाले ७७ वटै जिल्लामा प्रभाव पर्ने गरि काम गर्न भन्दै नयाँ कार्यसमितिलाई शुभकामना दिएका छन् । पदमा रहेर बस्ने व्यक्तिले प्रतिबद्ध रहेर संघलाई अगाडि बढाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।

