चितवन। चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफ् एम् गौरवमय २२ औँ बर्षमा प्रवेश गरेको छ । २०५८ साल कार्तिक २६ गते चितवनको आकाशीय ध्वनि तरंगमा पहिलो पटक गुञ्जिएको सिनर्जी एफ् एम् ले गौरवमय २१ औँ बार्षिक उत्सव विशेष कार्यक्रम गरी मनाउँदै छ ।
बार्षिक उत्सवको अवसरमा शुभकामना सन्देश दिँदै रेडियोका संस्थापक एवं प्रवन्ध निर्देशक सहन प्रधानले रेडियोको स्थापना कालदेखि आजका दिनसम्म रेडियोलाई अगाडि बढाउनका लागि योगदान दिने आज सम्मका सिनर्जीकर्मी, विज्ञापन दाता एवं श्रोता शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले रेडियोलाई आगामी दिनमा समय सापेक्ष प्रविधिसँग जोड्दै जाने बताउनुभयो । प्रवन्ध निर्देशक प्रधानले श्रोता शुभेच्छुकहरुको सुझाव सल्लाह अनुसार रेडियोलाई जनमुखी बनाउँदै लैजाने बताउनुभयो । साथै उहाँले जनताका मुद्दामा सक्रिय भएर प्रभावकारी कार्यक्रम उत्पादनका लागि समेत सिनर्जीकर्मी टीमलाई आग्रह समेत गर्नुभयो ।

