चितवन। रत्ननगर नगरपालिकाले नगर भित्रका विपन्न समुदायका नागरिकको निशुल्क स्वास्थ्य बिमा र स्वास्थ्य उपचार कोष स्थापना गरी कार्यान्वयको अन्तिम तयारी गरेको छ । रत्ननगरका मेयर प्रल्हाद सापकोटाले सपथग्रहण गरेलगतै विपन्न समुदायका परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका थिए ।
नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यविधि र विपन्न नागरिकलाई निःशुल्क उपचार कोष कार्यविधि निर्माण गरी कार्यपालिकाबाट पारित गरिएको मेयर प्रल्हाद सापकोटाले जानकारी दिए । नगर भित्रका ३ हजार २०० विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा गरिने छ । स्वास्थ्य बिमाको लागि नगरपालिकाले करिब १ करोड रुपैया विनियोजन गरेको मेयर सापकोटाले बताए ।
३ हजार २०० परिवारका लागि प्रतिपरिवार ३ हजारका दरले करिब एक करोड लगानी हुने अनुमान गरिएको छ । स्वास्थ्य बिमाको लागि नगरपालिकाले वडा कार्यालयबाट विपन्न परिवारको नाम माग समेत गरिसकेको छ । वडाहरुबाट नामावली आउनेक्रम जारी रहेकाले आम निर्वाचन लगतै स्वास्थ्य बिमा सुरु हुने छ ।
रत्ननगर अस्पतालमा स्वास्थ्य बिमा गर्ने र थप उपचार गर्नुपर्ने आवश्यकता देखिए त्यहीबाट रिफर गरेर अन्य अस्पताल जान सकिने व्यवस्था मिलाइने मेयर सापकोटाले बताए । रत्ननगर अस्पतालमा आउने विपन्न समुदायका विरामीहरु आर्थिक अभावकै कारण उपचार नगराई फर्किनु परेको अबस्थालाई मध्यनजर गरी सो नगरपालिकाले ३० लाख रुपैयाको स्वास्थ्य उपचार कोष स्थापना गरेको हो ।
सो कोष पनि चुनावपछि कार्यान्वयनमा आउने छ । कोषबाट एउटा विरामीलाई अधिकतम १० हजार रुपैया उपचारका लागि खर्च गर्ने गरी कार्यविधि तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।


