चितवन । माडीसंग सीमा जोडिएको पर्सा ठोरी गाउँपालिकाले सम्पूर्ण सामुदायिक विद्यालयमा शिशु कक्षा देखि उच्च माध्यामिक तहसम्मको पढाई निशुल्क गरेको छ ।
गत साउनदेखि लागु हुनेगरी पूणर्तः निशुल्क शिक्षा कार्यान्वयनमा ल्याइएको ठोरी गाउँपालिकाले जनाएको हो । पूणर्तः निशुल्क शिक्षा कार्यान्वयन गर्ने ठोरी मधेश प्रदेशको पहिलो पालिका बनेको छ ।
बिद्यालयले निजी स्रोतबाट कर्मचारी र शिक्षक भर्ना गर्नुपर्ने भएकोले खर्च जुटाउन विभिन्न शिर्षकमा सामुदायिक बिद्यालयहरुले अभिभावकसँग रकम लिने गर्दै आएकोमा यस बर्ष देखि गाउँपालिकाले नै सम्पूर्ण खर्च व्यर्होने भएको हो ।
ठोरी गाउँपालिका भित्र आधारभूत र माध्यामिक गरी २१ वटा सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयको भौतिक सुधार तथा अन्य खर्चका लागि गाउँपालिकाको गाउँ परिषदले ४८ लाख रुपियाँ छुट्याएको गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले जनाउनुभयो ।

