चितवन। बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगी रोगको सङ्क्रमणबाट साउनयता २७ हजार ७५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ । बागमती प्रदेशका १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौं सबैभन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको निर्देशनालयले जनाएको छ ।
काठमाडौंमा ११ हजार ४६७ र रसुवामा सात जना सो रोगबाट सङ्क्रमित भएको जनाइएको छ । निर्देशनालयका अनुसार ललितपुरमा ८ हजार १५, मकवानपुरमा ३ हजार ६०४, भक्तपुरमा २ हजार १०८, चितवनमा १ हजार १६९, धादिङमा ६३८, काभ्रेमा २१५, नुवाकोटमा १३१, सिन्धुलीमा ११३, रामेछापमा १२५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा डेंगी रोगको सङ्क्रमण पृष्टि भएको बताइएको छ ।
त्यस्तै प्रदेशमा हालसम्म सो रोगको सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको निर्देशनालयका विवरणमा रहेको छ । काठमाडौंमा सात, सिन्धुली र रामेछाप तीन/तीन, ललितपुर, मकवानपुर र चितवनमा दुई/दुई, भक्तपुर र धादिङमा एक/एक जनाको मृत्यु भएको छ ।

