चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) तोडफोड गर्ने मध्ये तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का धनबहादुर वि.क., जीवन सुनार र विकासबहादुर दमाई रहेका छन् ।
कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार उनीहरुलाई हिजो पक्राउ गरिएको हो । अस्पतालका तर्फबाट उनीहरु सहित ९ जना विरुद्ध किटानी जाहेरी परेसँगै पक्राउ गरिएको पण्डितले बताए । अन्य ६ जनाको खोजी कार्य भईरहेको उहाँको भनाई छ । उनीहरु विरुद्ध स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन २०६६ को शंसोधन २०७९ अनुसार मुद्दा दर्ता गरिएको पण्डितले जानकारी दिए ।
यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए । तोडफोडका कारण अस्पतालको सघन उपचार कक्ष (आईसियू) मा क्षती भएको छ । सो घटनालाई लिएर नेपाल चिकित्सक संघले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको थियो ।

