बैतडी । बैतडीको तल्लोसोराड क्षेत्रको एकमात्र रेफरल सेन्टरका रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा डाक्टर अभाव भएपछि त्यसको व्यवस्थाको पहल थालिएको छ ।
मेलौली नगरपालिकाले डाक्टरको रिक्त दरबन्दी परिपूर्ति गर्न पहल थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “डाक्टर अभाव भएपछि सूचना प्रकाशन गरेर आवेदन दिन आह्वान गरेका छौँ, चाँडै पदपूर्ति हुन्छ ।” तल्लो स्वराड क्षेत्रका तीन स्थानीय तहका नागरिकलाई सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र करिब एक वर्षदेखि डाक्टरविहीन बनेको हो । एक मेडिकल अधिकृत ९एमबिबिएस डाक्टर० को दरबन्दी भएपनि २०७८ असोजपछि दरबन्दी रिक्त छ ।
दरबन्दीअनुसार डाक्टर नहुँदा तल्लो स्वराड क्षेत्रका पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका स्थानीयलाई समस्या हुने गरेको स्थानीय सुरत नेगीले बताउनुभयो ।
यहाँ जहिल्यै पनि डाक्टरकै अभाव हुने गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रले विसं २०५६ देखि डाक्टरको अभाव झेल्दै आएको केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बीचबीचमा डाक्टर आउने गरेको भए पनि बढीमा एक÷दुई वर्ष बस्ने अनि जाने गरे । यसले सेवा प्रवाहमा समस्या भयो ।”
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा शव परीक्षण गर्नुपर्ने शव जिल्ला अस्पताल पु¥याउनुपर्ने बाध्यता छ । निरोगिताका प्रमाणपत्रलगायत अन्य कामका लागि जिल्ला धाउनुपर्ने छ । आकस्मिक उपचारका लागि पनि जिल्ला तथा डडेल्धुरा पठाउनुपर्ने बाध्यता छ ।

