चितवन । नारायणगढको क्याम्पस चौरमा जारी इसुजु चितवन गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज (शनिबार) हुँदैछ ।
गोल्डकपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र एभिनर एफसी क्यामरुन भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । आर्मी नव जन जागृति युवा क्लब सिमरालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने एभिनरले क्वाटरफाइनलमा फर्साटिकर एफसी रुपन्देहीलाई पाखा लगाएको थियो ।
दाबेदार मानिएका दुबै टोली मध्ये विजयी हुनेले उपाधिका लागि सशस्त्र प्रहरी बल (एपिएफ)एफसीको सामना गर्नेछ । एपिएफ यस अघि पहिलो सेमिफाइनलमा मनाङ एफसीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ ।
उपाधि भिडन्त ३ गते सोमबार हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप असोज ३ गतेसम्म चल्नेछ । गोल्डकप विजेताले सात लाख तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

