चितवन । नेपाली चलचित्रका बरिष्ठ कलाकार सुनिल थापाले आगामी असोज सात गते देशैभर प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘प्रेम गीत ३’ले ‘गिनिज बुक’मा ‘रेकर्ड’ राख्न सक्ने अनुमान गरेका छन् ।
चलचित्र प्रदर्शनबारे मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले टिपिकल नेपालका विभिन्न दृश्यलाई समेटिएर तयार गरिएको यस चलचित्रले नेपाली सिनेमाको इतिहाँसमा ‘गिनिज बुक’मा नाम लेखाउन सक्ने बताएका हुन् ।
हिउँ परेका बेला चलचित्र छायांकन गर्नुपर्ने भएका कारण मनाङ जस्तो चिसो ठाउँमा माइनस २६ डिग्री सेल्सियसमा पनि चलचित्र निर्माण टिमले काम गरेको थापाले बताए । यस चलचिमा उनको अन्य चलचित्रमा भन्दा फरक खालको भूमिका रहनेछ ।
अन्य चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका थापाले यस चलचित्रमा भने धामीको भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘यस चलचित्रमा मलाई देख्दा डराउनुपर्ने अवस्था छैन् । पहिले भन्दा फरक र विशेष भूमिका निर्वाह गरेको छु । यो टिमसँग जोडिन पाउँदा आफुलाई भाग्यमानी ठानेको छु ।’ नेपाली र हिन्दी भाषामा तयार भएकाले भारतीय र नेपालीहरुले साथ र माया गर्नेमा आफुहरु ढुक्क रहेको समेत थापाले बताए ।
चलचित्रका कार्यकारी निर्माता चक्रबहादुर चन्दले मधेशसँगै सिंगो कलाप्रेमीको मागलाई केन्द्रमा राख्दै आफूहरूले दुवै भर्जन रिलिज गर्ने निर्णय गरेको जनाएका छन् ।
नेपालमा चलचित्रको प्रदर्शनमा सुनील थापा, चक्रबहादुर चन्द,नव नायक मनिष रावत, प्रेम पुरी, गायक प्रताप दास लगातको टिम खटिएको छ भने निर्देशक एंव निर्माता सन्तोष, नायक प्रदीप खड्का सहितको टोली भारतका विभिन्न शहरहरुमा प्रचारप्रसारमा व्यस्त छन् ।
स्व. छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा तयार गरिएको यस चलचित्रका निर्देशक गुरुङको फिल्म प्रदर्शन हुनु अघि नै निधन भइसकेको छ । गुरुङ चलचित्र लेखक समेत रहेका थिए । उनले लेखेका चलचित्र नोभेम्बर रेन, क्लासीक रहेको छ भने डमरुको डण्डीवियो चलचित्र निर्देशन गरेका थिए ।
यस चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

