डुम्रे । आमाबाबुको निधन भएपछि टुहुरी भएकी सुशीला परियारले संरक्षक पाएकी छिन् व्यास नगरपालिका–१२ कमलबारीकी– ९ वर्षीया उनले संरक्षक पाएको लामो समय भएको छैन ।
बाबुको भारतस्थित रोजगारीको सिलसिलामा सवारी साधन दुर्घटनामा निधन भएको र आमाको पनि मृत्यु भए पछि टुहुरी भएकी सुशीलाले एक महिना अघि मात्र संरक्षक भेटृाएकी हुन् ।
वृद्ध हजुरबुवा र हजुरआमाको आश्रयमा रहँदै आएपनि सुशीलालाई पठन पाठन र समयमा खान नपाउँदा समस्या थियो । अहिले अभिभावकका रुपमा नगरपालिकाले आश्रय दिन थालेपछि खुसी लागेको उनी बताउँछिन् । मावलीतर्फको हजुरबुवा र हजुरआमाको संरक्षणमा रहँदै आए पनि पठनपाठन तथा लालनपालनमा उनलाई समस्या हुँदै आएको थियो ।
हजुरबुवा र हजुरआमाको साथमा रहेपनि खान र पढ्न नपाउँदा दुःख लागेको थियो तर अहिले यहाँ आएपछि पढ्न पाएको सुशीला बताउँछिन् । “स्कुल आउन नपाउँदा मलाइ पढ्न धेरै मन लाग्थ्यो अहिले खुसी लागेको छ पढ्न पाएको छु”, उनी भन्छिन, “बुवा र आमासँग हुँदा पनि खाजा खान र पढ्न पाएकी थिइन । अहिले स्कुलमा आएपछि समयमै पढ्न र खान पाएको छु ।”
“मलाई धेरै पढ्न मन छ ।स्कुल जान नपाउँदा धेरै दुःख लाग्थ्यो तर अहिले स्कुलमै बसेर पढ्न पाएकी छु । खुसी लागेको छ”, सुशीलाले भनिन्, स्कुलमा सर, मिसले राम्रो गरी सिकाउनुहुन्छ र खेल्दै सिक्न र पढ्न पाएको छु । धेरै पढ्नु छ ।”
सुशीला जस्तै व्यास नगरपालिका–९ नरङ्गाकी ९ वर्षीया कुशुम र कल्पना मजकोटी पनि बाबुको निधन भएपछि अभिभावकविहीन बने । उनीहरुकी आमा विदेशिक रोजगारीका लागि गएकामा हालसम्म सम्पर्कविहीन भएकाले बेसाहारा बनेका हुन् ।
सुशीलासँगै कुशुम र कल्पनाले पनि अहिले अभिभावक पाएका छन् । उक्त नगरपालिकाद्वारा यही भदौ ५ गतेदेखि वडा नं ७ नरङ्गा सिष्मटारस्थित व्यास नगर समता विद्यालय सञ्चालनमा आएपछि सुशीला जस्ता अभिभावकविहीन बालबालिकाले अभिभावक पाएका हुन् ।
लमजुङको सुन्दरबजार नगरपालिका–१ की ९ वर्षीया पल्लवी न्यौपाने पनि समता विद्यालयको आश्रयमा छिन् । उनको आमा मानसिक रोगी भएकीले बाबुले दुबैलाई बेवास्ता गरेपछि अहिले उनी समता विद्यालयको संरक्षणमा पुगेकी विद्यालय स्रोतले बताएको छ ।
अनाथ तथा अभिभावकविहीन र विपन्न वर्गका बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन समता विद्यालय सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । “अनाथ र विपन्न वर्गका बालबालिका मौलिक अधिकारबाट नै वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यले नगर कार्यापालिकाको बैठकबाट स्वीकृत गराई उक्त विद्यालय सञ्चालनमा ल्याएर आश्रय दिने गरेका छौँ”, उहाँले भन्नुभयो ।
शिक्षाको पहुँचमा पुग्नुपर्ने बालबालिका कूलतमा फसेको देखेर उनीहरुको अभिभावक बनेर व्यवस्थापन गर्न विद्यालय सञ्चालन गरिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । अभिभावकविहीन र शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँच पु¥याउने योजनासहित उक्त विद्यालय स्थापना गरिएको उहाँले बताउनुभयो ।
“व्यास नगरपालिकाले केहीको आमा नभएको, केहीको बाबु नभएको र केही अतिविपन्न शिक्षाको पहुँचमा पुग्नै नसक्ने भएकाले उनीहरुलाई कल्याणकारी सोचका साथ विद्यालय सञ्चालनमा ल्याएका हौँ”, प्रमुख न्यौपानेले भन्नुभयो, “अहिले पनि विद्यार्थी आइरहेका छन् । क्षमताभन्दा बढी राख्न सकिरहेका छैनौँ । व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ ।”
समता विद्यालयमा तीन जना घरबाट आउने जाने र ४० जना यस विद्यालयमै आवासीयरुपमा रहेर पठनपाठन गर्दै आएका छन् । उक्त विद्यालय स्थापनाले टुहुरा, अभिभावकविहीन अनाथ र विपन्न वर्गका बालबालिका शिक्षाको पहुँचमा पुग्ने भएका छन् । यस विद्यालय सञ्चालनका लागि नगरपालिकाले आन्तरिक आयबाट बजेट व्यवस्थापन गरेको छ । एक प्रधानाध्यापक, चार शिक्षक, दुई सुरक्षागार्ड, एक कार्यालय सहयोगी, एक माली र एक भान्से रहेको विद्यालयले जनाएको छ ।
विद्यालयको दिगो विकासका लागि नगरपालिकाले मात्रै नभई सरकारबाट नै व्यवस्थापन गर्ने योजनाअनुरुप अगाडि बढेको वडा नं ७ का वडाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाकाभित्रका अभिभावक गुमाएका, मावलीको संरक्षणमा रहेका र आफन्तकामा बस्दै आएका बालबालिकालाई यस विद्यालयमा आवाससहितको व्यवस्था गरी पठनपाठन भइरहेको छ ।
राज्यले नै अनाथ तथा विपन्न वर्गका बालबालिकाको संरक्षण गर्नुपर्नेमा नगरपालिकाले चालेका यी पाइलालाई सङ्घ सरकारले सहयोगको व्यवस्था गरे सहज हुने स्थानीयवासीको भनाइ थियो। नगरपालिका स्थानीयवासीको नजिकको सरकार भएकाले पनि यो कदम समयसापेक्ष रहेको उनीहरुले बताए । नगरपालिका उक्त विद्यालयमा बालबालिकाको पठनपाठनका लागि स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने तयारीमा छ ।

