चितवन। भरतपुर फुटबल क्लबको आयोजनामा जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा आज (सोमबार) एक खेल हुँदैछ । गोल्डकपमा आज उपाधि दाबेदार मनाङ एफसीविरुद्ध बागमती नगरपालिका सर्लाही भिड्दैछ । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको मनाङलाई गोल्डकपको दाबेदारको रुपमा हेरिएको छ । उता बागमती मोफसलको उत्कृष्ट टिम हो ।
मनाङ र बागमतीबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । खेल नारायणगढको क्याम्पा चौरमा दिउँसो ३:३० बजे सुरु हुनेछ । विजयी हुने टोली सेमिफाइनल प्रवेश गर्नेछ ।
१० टोली सहभागी गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ । गोल्डकपको फाइनल असोज ३ गते हुनेछ ।

