चितवन । चितवनमा भैँसी चराउन जंगल गएका एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको माडी नगरपालिका २ ढिकुन बस्ने ६८ वर्षीय सूर्यनाथ अधिकारी शनिबारदेखि बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो १ बजे सुर्यनाथ र उनका २५ वर्षीय छोरा होमबहादुर अधिकारी मध्यवर्ती सामुदायिक वन अमलियामा सँगै भैँसी चराउन गएका थिए । सोही क्रममा उनका छोरा होमनाथले आफु भैँसी चराएर आउँछु भनि बाबुलाई घर पठाएको र आफुँ घर पुग्दासमेत बाबु घर नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जानकारी गराएका छन् ।
बेपत्ता भएका अधिकारीलाई स्थानीयले खोज्ने क्रममा उनले लगाएको टोपी, चप्पल र छाता सोही स्थानमा फेला परेको र बाटोमा रगतको टाटो समेत देखिएको भन्दै जंगली जनावरले लगेको हुन सक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । प्रहरीका अनुसार अधिकारीको खोजी कार्य भइरहेको छ ।

