चितवन। सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सम्बन्धि बिद्यमान ऐन,नियमावली कार्यान्वयनमा देखिएका समस्या,चुनौती र समाधानका प्रयास बिषयक दुई दिने कार्यशाला गोष्ठी शनिबार भरतपुरमा भएको छ । भरतपुर महानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजना र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागको सहजीकरणमा उक्त कार्यशाला गोष्ठी भएको हो ।
कार्यशाला गोष्ठीलाई सहजीकरण गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका महानिर्देशक तिर्थराज भट्टराईले राज्य सग भेट हुने पहिलो चरण र छुट्टिने अन्तिम चरण भनेको नै जन्म दर्ता र मृत्यु दर्ता भएको बताउनु भयो । महानिर्देशक भट्टराईले जनताको दैनिकीमा आइपर्ने घटन दर्ताका सम्बन्धमा गोष्ठीमा गरिएको सहजीकरणले निकै ठुलो सहयोग पुगेको बताउनु भयो ।
ब्यक्तिगत घटना दर्ताका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै बिभागका निर्देशक मिना अर्यालले जन्म, मृत्यु, बसाइँसराइ र सम्बन्ध बिच्छेद जस्ता जनता सग प्रत्यक्ष सरोकार राख्ने बिषय भएको हुँदा यस्ता बिषयहरुमा वडा सचिबहरुले ध्यान पुर्याएर काम गर्न आग्रह गर्नु भयो । निर्देशक अर्यालले ब्यक्तिगत घटना सम्बन्धि बिद्यमान नितिगत तथा कानुनी ब्यबस्था,ब्यक्तिगत घटना सम्बन्धि मुख्य कानुनी प्राबधान र ब्यक्तिगत घटना सम्बन्धि विविध सवालहरुको बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।
यो दुई दिने गोष्ठीको माध्यमबाट प्राप्त उपलब्धिले सिकाइ र भोगाइलाइ निखार दिएको भन्दै भरतपुर महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले वडाका हरेक कामकारबाहीमा अब सहजता आउने बिश्वास व्यक्त गर्नु भयो । जनता र जनप्रतिनिधिको बीचमा यो गोष्ठीले पुलको काम गरेको भन्दै कार्यबाहक नगर प्रमुख अधिकारीले जनताको पहिलो सरकार भनेको नै वडा भएको टिप्पणी गर्नु भयो ।
अंशबन्डा, नागरिकता, राहदानी, नाबालक परिचयपत्र, पठनपाठनदेखि राज्यबाट पाउने अरू सेवा सुविधा उपभोग गर्न पनि घटना दर्ता अनिवार्य मानिन्छ । यसकै आधारमा राज्यले दिने सेवा सुविधा र कानुनी अधिकार स्थापित हुन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा १८ ले यस्ता घटना घटेको ३५ दिनभित्र स्थानीय पञ्जिकाधिकारी (वडा कार्यालय) र विदेशमा भए कूटनीतिक नियोगमार्फत घटना दर्ता गराउनुपर्ने कानुनी व्यवस्था छ ।
यसैबीच भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले वडा सचिबहरुले कुनै स्वार्थ वा बाहनामा जनताका काम अडकाएको पाइएमा तत्काल कारबाही गरिने चेतावनी दिनु भयो । जनताका कामकारबाहीलाई अडकाएर नराख्नुस, तत्कालै समाधान गर्नुस् यदि कहि कतै कुनै बहाना बाजी गरेर अडकाएको पाइएमा कारबाही हुन्छ, यो मेरो निर्देशन हो । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले वडा अध्यक्षहरुलाइ सहयोग गर्न सचिबहरु सग आग्रह पनि गर्नु भयो । उहाँले वडा सचिबहरुलाइ स्मार्ट भएर काम गर्न र सुशासनमा प्रतिबद्ध हुन पनि सचेत गराउनु भयो । उहाँले वडामा घटेका कुनै पनि घटना लगत्तै त्यसको घटना दर्ता गर्ने परिपाटीको शुरूवात गर्न पनि सचिबहरु सग आग्रह गर्नु भयो ।
भरतपुर महानगरपालिका २९ वटै वडाका अध्यक्ष एवं सचिबहरुलाइ जनताका दैनिक सेवा प्रवाहमा सहजता ल्याउने उदेश्यका साथ गोष्ठीको आयोजना गरिएको महानगरका स्वास्थ तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले जानकारी दिनु भयो । नेपालले सन् २०२४ भित्र व्यक्तिगत घटना दर्ता गरिसक्ने राष्ट्रसंघमा प्रतिबद्धता गरेको छ ।
संयुक्त राष्ट्रसंघको सन् २०१४ सेप्टेम्बरमा भएको ६९ औं महासभामा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सन् २०२४ भित्र नेपालले सबै व्यक्तिगत घटना दर्ता गरिसक्ने प्रतिबद्धता जनाएका थिए । तर बिडम्बना हाल सम्म नेपालमा जम्मा २० लाख ९२ हजार ३ सय ५९ जनाको मात्रै ब्यक्तिगत घटना दर्ता भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका अनुसार हाल सम्म नेपालमा ९० लाख मानिसको बायोम्याट्रीक कार्य सम्पन्न भएको छ भने नेपालमा रहेका कुल ६ हजार ७ सय ४३ वडाहरु मध्ये ६ हजार ३ सय ८४ वडाहरुमा अनलाइन मार्फत सामाजिक सुरक्षा भत्ता तथा ब्यक्तिगत घटना दर्ता ब्यबस्थापन कार्य भइरहेको छ ।

