साउन १६ । भरतपुर महानगरपालिका–१ देवघाटमा गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको छ। महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रेबिज रोगका कारण चारवटा गाई मरेका हुन्।
मरेका गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको उनले जानकारी दिए। उनले भने, “देवघाटमा मरेका गाईमा रेबिजको लक्षण देखिएकाले त्यस क्षेत्रका २४ वटा गाईमा रेबिजको खोप लगाइएको छ।” गाई मरेको खबर पाएसँगै पशु चिकित्सकसहितको टोलीले सो क्षेत्रको अध्ययन गर्दा ती गाई रेबिजले मरेको पाइएको हो। महानगरको पशु शाखामा रहेको ६० डोजले नपुगेर खरिद गरी तत्काल ती पशुलाई पाँच डोजको दरले खोप लगाइएको छ। सो क्षेत्रमा छाडारुपमा गाई छाडिएका छन्। घरमा पनि गाई पालिएको छ। पुण्यभूमि भएकाले देवघाटमा बसोबास गर्नेले पशुचौपाया पाल्दा गाईनै पाल्ने गर्दछन्।
उनका अनुसार रामपुर क्षेत्रमा पनि तीनवटा भैँसी मरेको भए पनि ती भैँसीको कारणले मरेका हुन् भन्ने विषयमा भने अध्ययन भइरहेको छ। अन्य क्षेत्रमा भने त्यस्तो समस्या नदेखिएको उनले जानकारी दिए। रासस

