चितवन । वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न सङ्गठनले यही भदौ २ गते सुर्खेतस्थित डिभिजन वन कार्यालयबाट वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ परेका धनीराम लामिछानेको मृत्यु भएको घटनापछि अरु कर्मचारीलाई पक्राउ गरिएकामा डिभिजन वन कार्यालय चितवनले पनि विरोध गरेको छ ।
कर्तव्य पालनाकै क्रममा कर्मचारीलाई प्रशासनले निगरानीमा लिएको भन्दै नेपाल वन प्राविधिक सङ्घ, फेरेष्ट टेक्निसियन इसोसियसन अफ नेपाल तथा जुनियर वन प्राविधिक सङ्घले सो मृत्युपछि जारी अनुसन्धानको विषयलाई लिएर भएको विरोधका कार्यक्रममा डिभिजन वन कार्यालय चितवनले ऐक्यबद्धता जनाउँदै आज डिभिजन वन कार्यालयमा तालाबन्दी गरेको छ ।
कर्तव्य पालनाको सिलसिलामा प्रशासनले निगरानीमा लिएका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वनरक्षक पिउषराज तिवारी तथा सुरेन्द्र रानालाई कार्यक्षेत्रमा अविलम्ब फिर्ता पठाउन डिभिजन वन कार्यालय चितवनले माग गरेको छ ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ परेका ५८ वर्षीय लामिछानेले आत्महत्या गरेको विभिन्न तथ्य र प्रमाण बाहिर आएका र यसका लागि अनुसन्धानका लागि भन्दै निर्दोष कर्मचारी पक्राउ गर्नु गलत भएको भन्दै पक्राउ परेका कर्मचारीलाई तत्काल रिहा गरी कार्यक्षेत्रमा फिर्ता पठाउन माग गरिएको छ ।

