चितवन । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको विषयमा चर्चापरिचर्चाहरु सामाजिक सञ्जालमा तीव्र छ । धार्मिक परम्पराअनुसार भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म गरी चार दिनसम्म तीज मानिने चलन छ ।
विगतका वर्षमा कोरोनाका कारण शुनसान रहेको तीज पर्व यस वर्ष भने उत्साहजनक देखिएको छ । तीजमा विशेषगरी वर्षभरि भेट नभएका दिदीबहिनीहरु भेटघाट गर्ने, तीजका गीतमार्फत वेदना पोख्ने तथा दिदीबहिनी र आफन्तहरुको सम्बन्ध सुमधुर बनाउने पर्वका रुपमा तीजलाई मानिन्छ । तीजमा श्रीमानको आयु लामो होस् भनेर ब्रत बस्ने चलन पनि छ । यसै पर्वलाई चितवनका महिला नेतृले पनि आ–आफ्नै तरिकाबाट तीज मनाउने भएका छन् ।
गंगा बेलबासे
नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्यसमेत रहेकी नेतृ गंगा बेलबासेले यसपटक सामान्य तरिकाले चितवनको माडी नगरपालिकास्थित घरमै बसेर तीज मनाउने भएकी छन् । परिवारका सदस्यहरुसँग बसेर खानपिन गर्ने, पारिवारिक भेटघाट गर्ने कार्यक्रम रहेको उनले बताइन् ।
यसपटकको तीजमा उनी माइत नजाने र ब्रत पनि नबस्ने बताइन् । उनी भन्छिन्, ‘मलाई तीजमै माइत जानुपर्छ भन्ने लाग्दैन । अहिले नारीहरुलाई पहिलाजस्तो माइत जान तीज नै कुर्नुपर्ने बाध्यता भने छैन । ब्रत पनि म बस्दिनँ । धार्मिक आस्था नभएर ब्रत नबसेको भने होइन तर तीजमा आफ्नो स्वास्थ्य अवस्थाबारे ख्याल नगरी निराहार ब्रत बस्दा त्यो व्रत फलदायी हुन्छ जस्तो लाग्दैन ।’
विगतका वर्षहरुमा भन्दा पछिल्ला केही वर्षयता नारीहरुको तीज मनाउने तरिका भिन्न भएको छ । पहिला घरमै दर पकाएर खाएर तीज मनाइन्थ्यो भने अहिले महिलाहरु दर खान र नाच्न पार्टी प्यालेसमा जाने बढ्दो चल्तीले विकृति भित्र्याउन सक्ने उनी बताउँछिन् ।
लक्ष्मी ढकाल
नेकपा माओवादीकी नेतृ लक्ष्मी ढकालले पनि यसवर्ष सामान्य रुपमा तीज मनाउने भएकी छन् । स्वास्थ्यमा समस्या भएका कारण उनी तीजको दिन घरमै रहने बताएकी छन् ।
विगतका वर्षमा नारीहरुमाथि पारिवाररिक दमन धेरै हुने गथ्र्यो । माइती नारीको पीडा पोख्ने चौतारी हो । वर्षमा एक दिन बल्लतल्ल माइती पुग्ने र पीडा पोख्ने तथा खुसी साट्ने गरिन्थ्यो । तर पछिल्लो समय चेलीहरुले वेदना पोख्ने भन्दा पनि विकृति बढाउन साथ दिएको उनी बताउँछिन् ।
पछिल्लो समय तीज भड्किलो बन्दै गएको भन्दै तीजलाई सामान्य रुपमा मनाउन सबै नारीलाई आग्रह गर्छिन् । उनी भन्छिन्, ‘अहिले तीज भड्किलो बन्दै गएको छ । संस्कृतिको नाममा विकृति बढ्दै छ ।’
ताराकुमारी काजी महतो
माडी नरपालिका नगरप्रमुख तथा नेकपा एमाले नेतृ ताराकुमारी काजी महतोले विभिन्न समुहका महिला दिदीबहिनीहरुसँग तीज मनाउने भएकी छन् ।
जनजाती समुदायकी महतोले आफ्नो परम्परामा तीजको समयमा द्धितीया पर्व मनाउने भए पनि उनले माडी क्षेत्रका महिलाहरुसँग भोलिको दिन तीज मनाउने बताइन् । आफ्नो क्षेत्रमा नेपाली धार्मिक संस्कृति र परम्पराको विकृति हुन नदिन पहल गर्ने समेत बताइन् ।
पार्वती रावल
नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य समेत रहेकी चितवनकी नेतृ पार्वती रावलले पनि सामान्य ढङ्गबाट तीज मनाउने भएकी छन् । कामको व्यस्तताका कारण उनी घर परिवारबाट बाहिर भएका कारण यसपटक उनको तीज सामान्य रहने उनी बताउँछिन् ।
पछिल्लो समय तीजमा तडक भडक बढ्दै गएको भन्दै उनले धर्म संस्कृतिको संरक्षण गरी सकरात्मक सोचले सामान्य ढङ्गबाट तीज मनाउन सुझाव समेत दिएकी छन् ।
पार्वती शाह
भरतपुर महानगरपालिकाकी पूर्व उप मेयर तथा नेपाली कांग्रेस नेतृ पार्वती शाहले यस वर्ष तीज मनाउन नहुने बताएकी छन् । पारिवारमा शोक (माइजुको निधन) भएका कारण यस वर्ष तीज मनाउने तथा व्रत बस्न नहुने उनले बताइन ।
विगतका दुई वर्ष कोरोनाका कारण तीजका कार्यक्रमहरु रोकिएका थिए । अहिले भने फाटफुट कार्यक्रम भएको भन्दै केहीकेही कार्यक्रममा सहभागी भएको उनले बताइन् ।
अन्जनी श्रेष्ठ
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व सांसद रहेकी अन्जनी श्रेष्ठले व्रत बसेर तीज मनाउने भएकी छन् । पहिला पहिला राम्रो श्रीमान पाउँ भन्दै व्रत बस्ने भन्ने हुन्थ्यो, अहिले सबैको राम्रो होस भनेर व्रत बस्ने गरेको उनी बताउँछिन् ।
उनको तीजगीत प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि भइ तीज मनाउने भएकी छन् ।

