चितवन । चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र भित्र पर्ने सामुदायिक वनमा हात्ती सफारी गर्न अनुमति दिएपछि सौराहाका व्यवसायीमा केही आशा पलाएको छ । साउन १ गतेदेखि चितवन प्रशासनले होटल तथा रेष्टुरेण्ट निश्चित मापदण्ड तोकेर खोल्न अनुमति दिएपनि पर्यटक नआउंँदा व्यवसायीहरु निराश बनेका थिए । हात्ती सफारी सञ्चालनमा आएपछि पर्यटक गतिविधि बढ्ने भन्दै अहिले उनीहरु खुशी भएका हुन् । ‘हात्ती सफारी खुलेपछि व्यवसायी, माउते, गाइड, स्थानीय सबैले काम पाउंँछन ।’ यूनाईटेड हात्ती सञ्चालन सहकारी संस्था, सौराहाका अध्यक्ष ऋषि तिवारीले भने । सौराहाको पयार्यवाचीनै हात्ती भएकोले हात्ती विना सौराहाको कल्पना समेत गर्न नसकिने उनको भनाई छ ।
हात्ती सफारी सौराहाका पर्यटनको मेरुदण्ड र आम्दानीकोे मुख्य श्रोत भएकोले पनि हात्ती सफारी अपरिहार्य हुने व्यवसायीले बताएका हुन ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द भएको हात्ती सफारी, जीप सफारी र डुंगा सयर करिब तीन महिनापछि खुल्ला गरिएको हो । पछिल्लो पटक वैशाख १६ गतेदेखि सौराहाको सफारी बन्द भएको थियो ।सौराहा होटल रेष्टुरेण्ट सञ्चालनमा आएको १२ दिनपछि सफारी खुल्ला गरिएको हो । सामुदायिक वनमा सफारीको लागि निकुञ्जले टिकट खुल्ला गरेको हो । सौराहा यही साउन १ गते देखि ३३ प्रतिशत पर्यटक राख्न पाउने गरी होटलहरुआंशिकरुपमा खुल्ला गरिएको थियो ।
क्षत्रीय होटल संघ, सौराहाका अध्यक्ष दिपक भट्टराई हात्ती सफारी खुलेपछि मात्र सौराहा खुल्यो भन्ने सन्देश अन्तराष्ट्र्रिय स्तरमा समेत जाने बताए । ‘हिजोसम्मपनि सौराहा सुनसान जस्तै लागेको थियो, उनले भने,हात्ती सफारी खुल्ने भन्ने बित्तिकै केही गतिविधि बढेको अनुभव गरेका छौं ।’ हात्ती सफारी खुल्ने वित्तिकै होटलका कर्मचारी, गाइडहरु आउनुका साथै स्थानीय पसल , मासुजन्य व्यवसाय लगायत सबै व्यवसाय चलायमान हुन लागेको उनको भनाई छ । बर्षामा निकुञ्ज भित्र जीप सफारी सञ्चालन नहुने भएपनि सामुदायिक वनमा हात्ती सफारी गर्न पाउँदा सबैलाई राहत मिल्ने उनले बताए ।
हात्ती सफारी खुल्ने वित्तिकै बुकिङ्ग पनि बढ्ने, पर्यटकको बसाई अवधि पनि बढ्ने र चहलपहल पनि बढ्ने रेष्टुरेण्ट एण्ड बार एशोसियसनका रेबानका अध्यक्ष दिेपेन्द्र खतिवडा बताउंँछन । ‘मुख्य गरी हात्ती सफारी गर्ननै सौराहा आउने हो , हात्ती सफारी खुलेपछि मात्रै यहांँ चहलपहल बढ्ने गर्दछ ।’ खतिवडाले भने । सौराहाको बिशेषतानै हात्ती सफारी भएकोले आफूलाई खुशी मिलेको उनको भनाई छ ।
बीसहजारी तालसहित पर्यापर्यटन सञ्चालन गरिरहेका यहाँका बाघमारा मध्यवर्ती सामुदायिक वन, जनकौली मध्यवर्ती सामुदायिक वन, चित्रसेन मध्यवर्ती सामुदायिक वन र खैरहनीको कुमरोज सामुदायिक वनमा हात्ती सफारी, जिप सफारी र डुंगा शयरको लागि खुल्ला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
सौराहामा आन्तरिक पर्यटक आउन थालेपछि व्यवसायीहरुको आग्रहका आधारमा मध्यवर्तीभित्रका सामुदायिक वनमा सफारी खुल्ला गरिएको उनले बताए ।
कोरोना महामारीको जोखिम कायमै रहेकाले तत्कालका लागि निकुञ्ज खुल्ला गर्ने अवस्था नरहेको भन्दै उनले अबस्था सामान्य बन्दै गएपछि वर्षापछि निकुञ्ज खुल्ला गरिने उनले बताए । निकुञ्ज सफारीका लागि बाटो मर्मत गरेर मात्र निकुञ्ज खुल्ला गर्ने योजना रहेको छ । हात्ती सफारीको लागि यहांँ नीजि र सरकारी हात्ती झण्डै डेढसयको हाराहारीमा छन ।
सामान्य अवस्थामा चितवन निकुञ्जमा वार्षिक करिब २ लाख पर्यटक निकुञ्ज घुम्न आउने गरेका छन् । सौराहाको मुख्य आम्दानीको स्रोत निकुञ्ज र सामुदायिक वनमा सफारी हो । यहाँ घुम्न आएका पर्यटकहरु दुई रात तीन दिनसम्म बस्ने गरेका छन् । सौराहामा १२० भन्दा बढी पर्यटकीय होटल तथा ८५ वटाको हाराहारीमा रेस्टुरेन्ट छन् ।

