चितवन । पहिरोको समस्या नारायणगढ मुग्लिन सडकमा नयाँ होइन । पुरानो पिडा हो । तराईका विभिन्न जिल्लाबाट राजधानी काठमाडौं, पोखरा जस्ता सहरको यात्रा गर्न अनिर्वाय जस्तै बन्छ यो सडक ।
नारायणगढ मुग्लिन सडकमा पहिरो जाँदा राजमार्गमा गाडीको जाम बढेको छ । पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध भएपछि राजमार्गमा गाडीहरुको लाइन लागेको हो ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा ठाउँठाउँमा प्रहरीले गाडी रोकेको छ । काठमाडौं पोखरा जाने गाडीहरु रत्ननगरको राजमार्गमा लाइनमा बसेका छन् ।
लगाताररुपमा पानी परेका कारण हिजो (सोमबार) राति ११ बजेबाट अवरुद्ध नारायणगढ मुग्लिन सडकको पहिरो हटाउन हम्मेहम्मे भइरहेको छ ।
धरानबाट पोखरा जान हिडेका सुसन राईको पिडा पनि उस्तै छ । पहिरोका कारण भएको जामले सास्ती खेप्नु परेको उनी बताउँछन् । राई भन्छन्, ‘यो बर्सेनीको समस्या हो । जहिल्यै यस्तै ।’
निरन्तर वर्षा भैरहेको छ । ठूला मालबाहक गाडी देखि यात्रुबाहक बस चितवनमा अलपत्र परेका छन् ।
वीरगंजबाट सामान लोड गरेर हिजो ९ बजे राति काठमाडौँ हिडेका विष्णु कालाखेती चितवनमा आएर जाममा परे । उनी हेटौडा आइपुग्दा १२ बज्यो । गाडी सडकको किनारामा रोकेर त्यहीँ आराम गरे । बिहान ४ बजे हिडे चितवनको रत्ननगर आइपुग्दा ७ बज्यो । प्रहरीले उनलाई त्यहीँ रोके । कालाखेती भन्छन्, ‘राति पानी त परेको थियो, पहिरो जान्छ होला जस्तो पनि लागेको थियो । गएछ । प्रहरीले भनेर थाहा भयो । ४ घण्टा भयो जाम भएको । पानी पनि परिरहेको छ । धेरै दुःख पाइयो ।’ जाम कहिले खुल्छ थाहानै भएन उनले सुस्केरा हाल्दै बताए ।
त्यस्तै, धरानबाट पोखरा जान हिडेका सुसन राईको पिडा पनि उस्तै छ । पहिरोका कारण भएको जामले सास्ती खेप्नु परेको उनी बताउँछन् । राई भन्छन्, ‘यो बर्सेनीको समस्या हो । जहिल्यै यस्तै ।’
राजमार्गको चिया पसलमा चिया पिउदै गरेका सन्तोष झालाई धनुषाबाट काठमाडौं जानु थियो । वैदेशिक रोजगारीको श्रम स्वीकृती लिन हिडेका झा चितवनमै रोकिएका छन् । उनलाई बाटोमा जाम परेको भन्दा पनि निरन्तरको वर्षाले हैरानी दिएको छ । उनी भन्छन्, ‘पहिरो त गयो यो पानि रोकिए हुने । पानिले हैरान बनाइसक्यो । पानि नरोकिए सम्म बाटो खुल्छ जस्तो लागेको छैन ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक धर्मबहादुर थापाले नारायणगढ मुग्लिन सडकमा पहिरो निरन्तर गई रहेको र वर्षा समेत नरोकिएको कारण आज बाटो खुल्ने सम्भावना निकै कम भएको बताए । उनले भने, ‘निरन्तर पहिरो गईरहेको छ । आज बाटो खुल्छ जस्तो मलाई लाग्दैन । भोलि सम्म लाग्न सक्छ ।’

