चितवन । चितवनको सामुदायिक विद्यालय नारायणी नमुना माविले शैक्षिक गुणस्तरमा छलाङ मारेको छ । अहिलेको एसइई परीक्षामा नारायणी नमुना माविको नतिजा उत्कृष्ट आयो, जसले नारायणीको मात्र होइन, चितवनकै शिर उचो बनाएको छ ।
यस पटकको एसइई परीक्षामा नारायणी नमुना माविमा अध्ययनरत एक छात्रले चार जिपिए ल्याए । सामुदायिकतर्फ ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा ल्याएको सम्भवतः नेपालमै नारायणी मावि पहिलो भएको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडी बताउँछन् । उनी भन्छन्, ‘सामुदायिक तर्फ ४ जिपिए ल्याउने विद्यार्थी अन्य कुनै स्कुलले भनेका छैनन्, यसर्थमा सामुदायिकतर्फ नेपाल प्रथम नै हाम्रो स्कुल भएको हामी दावी गर्छौं ।’
नारायणी नमुना माविका प्रशान्त अधिकारीले ४ जिपिए ल्याएका हुन्। गोरखा जिल्ला अजिरकोट गाँउपालिका ३ घर भएका अधिकारीले माध्यमिक तह एसईईमा ४ जिपिए ल्याए। नारायणी नमुना मावि ३८२ जनाले एसईई दिएका मध्ये ९३ जनाले ‘ए’ प्लस ल्याए । प्रधानाध्यापक दवाडीका अनुसार नारायणी नमुना मावि ३८२ जनाले एसईई दिएका मध्ये १०९ जनाले ‘ए’, ८४ जनाले ‘बी’ प्लस, ५० जनाले ‘बी’ र ४३ जनाले ‘सी’ प्लस र ३ जनाले ‘सी’ ल्याए ।

प्रधानाध्यापक दवाडीले सामुदायिकतर्फ यति धेरै विद्यार्थी एसईईमा सहभागी भएर उत्कृष्ट नतिजा ल्याउन सफल भएको यो एकमात्र विद्यालय हो । उनका अनुसार नारायणी नमुना माविमा हाल २२ सय विद्यार्थी अध्ययनरत छन् । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर दसमा रहेको नारायणी नमुना माध्यमिक विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्मको पढाइ हुन्छ । यस विद्यालयमा भर्नाको समयमा मन्त्रीदेखि सांसद सम्मले आफ्नो विद्यार्थी भर्नाको लागि फोर्स लगाउन आएका प्रधानाध्यापक दवाडी बताउँछन् ।
उनी भन्छन्, ‘हामी त चितवनमा मात्र होइन, नेपालमै जम्यौँ, अरु विद्यालय पनि यसरी जम्नुपर्छ भन्ने हामी चाहन्छौँ, त्यसैले सबै सामुदायिक विद्यालयले नारायणी नमुना माविबाट सिक्नुपर्छ ।’ उनले नारायणी नमुना माविको शिक्षकको मिहिनेत, प्रअको लगाव, कर्मचारीहरुको परिश्रम, पढाउने शैली सिल्प, विद्यार्थीहरुको देखाउने गोरेटो यी सबै विषय नारायणी नमुना माविबाट अन्य विद्यालयले सिक्न सक्ने बताए ।
नर्सरीदेखि पाँच कक्षासम्म एवं कक्षा ११ र १२ मा अंग्रेजी भाषा माध्यम तथा ६ देखि दस कक्षासम्म नेपाली र अंग्रेजी दुबै भाषामा पढाइ हुन्छ । अंग्रेजी भाषामा शिक्षण सुरु गरेपछि संस्थागत विद्यालयमा पढेका विद्यार्थीको समेत आकर्षणको केन्द्र बन्न सफल भएको छ । विद्यालयमा नजिकैकामात्र नभई दस किलोमिटर टाढाबाट पनि साइकलमा विद्यार्थी यहाँ पढ्न आउँछन् ।
‘संस्थागत विद्यालयका विद्यार्थी बढीमात्रामा भर्ना हुन आइरहेका छन्, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थी यहाँ पढिरहेका छन्’ प्रअ दवाडीले भने, ‘कक्षा आठदेखि माथिको पढाइका लागि यहाँ भर्ना हुन आएका छन् । ६ र सात कक्षामा भर्ना हुन आएकाहरु पनि छन्, तलका कक्षाहरुमा पनि पछिल्लो वर्षहरुमा चाप बढेको छ । प्रवेश परीक्षा लिएरमात्र भर्ना गर्दै आएका छौँ ।’

कसरी यहाँसम्म पुग्यो नारायणी मावि ?
नारायणी नमुना माविले २०४३ सालबाट पुरस्कार पाउन थालेको हो । २०४३ सालको शिक्षा दिवसमा क्षेत्रीय पुरस्कारस्वरुप ५० हजार रुपैयाँ विद्यालयले पायो । २०६९ सालमा राष्ट्रिय पाँचौं भई पाँच लाख नगद पायो । २०७० सालमा राष्ट्रिय छैटौं र २०७१ सालमा राष्ट्रिय एक्काइसौँ भएर नगद एक लाख विद्यालयले जित्यो । यसबाहेक साना र ठूला गरी नारायणी नमुना माविले सयौँ पुरस्कार जितेको छ ।
सुरुमा रात्रिकालीन स्कुलबाट यस विद्यालयको उदय भएको हो । यो स्कुल सञ्चालन हुँदा बिजुलीको प्रबन्ध थिएन । लालटिन बालेर विद्यार्थी पढाउन सुरु गरिएको हो । अहिले यस विद्यालयले आफ्ना विद्यार्थीलाई प्रोजेक्टरबाट अध्यापन गराउन सफल भएको छ । एउटा झुपडीबाट सुरु भएको यस विद्यालयले अहिले ठूलठूला भवनहरु बनाउन सफल भएको छ । यस विद्यालयसँग यतिबेला छ बिघा चार कठ्ठा चौध धुर जग्गा छ।

५४ वर्षअघि २०२० सालमा यो विद्यालयले रात्रिकालीन सेवा चलाएको थियो । नेत्रहीन विद्यार्थीहरुको पनि पढाइ हुन्छ । छात्रावास तथा बौद्धिक अपांगता भएका विद्यार्थीले पढ्ने तीन वटा अलगअलग भवनहरु छन् । प्रयोगशाला ल्याबदेखि कप्युटरको सम्पूर्ण सुविधा छ । हरेक कोठामा प्रोजेक्टरबाट पढाइ हुन्छ । विद्यालयमा झन्डै ७५ जना शिक्षक छन्, जसले २२ सय विद्यार्थीलाई अध्यापन गराउँछन् ।
२०६९ जेठ ६ गते स्वर्ण महोत्सव मनाएकै दिनदेखि यस विद्यालयलाई नारायणी नमुना मावि बनाइयो । एक सय ५० सूचांक रहेको सरकारी मापदण्ड पूरा गरेकोले देशभित्र पहिलोपटक २०७० सालमा सरकारले यस विद्यालयलाई नमुना मावि घोषणा गरेको हो । लालटिनको उज्यालोमा पढ्ने, पढाउनेबाट सुरु भएको विद्यालय अहिले देशकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।

