चितवन । भरतपुर महानगरपालिका वडा नं १० बालमन्दिर रोडमा अटिजम विशेषको सरकारी विद्यालय छ । यस अटिजम विद्यालयमा यतिबेला विद्यार्थीमात्र होइनन्, अभिभावक पनि खुसीले चङ्गा भएका छन् । सो स्कुलमा अभिभावकको दैनिकीमात्र बितेको छैन, अटिजम विद्यालयमा सिक्न आएका विद्यार्थी पनि धेरै कुरा सिकिरहेका छन् ।
उक्त विद्यालयमा दैनिक आउने अभिभावकमध्ये एक हुन् गंगा न्यौपाने । भरतपुर–२ क्षेत्रपुरकी ३३ वर्षीया गंगा अटिजम भएका आफ्ना ९ वर्षीय छोरा रिजन पौडेललाई आधारभुत शिक्षा दिनकै लागि विगत छ महिनादेखि धाइरहेकी छन् ।
अटिजम भन्ने शब्द उनका लागि नयाँ थियो । अटिजम के हो ? भन्ने कुरा अझै पनि हामी धेरैलाई थाहा छैन । अटिजम भन्नाले बालबालिकामा लाग्ने कुनै प्रकारको रोग होइन । यो एउटा मस्तिष्कको विशेष अवस्थामात्र हो ।
रिजनको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप, घुलमिल हुन सक्ने क्षमताको कमी र आधारभुत क्रियाकलाप सिकाइको क्षमता कम थियो । उनी आफ्नै आमालाई समेत सुन्दैनथे । बाल्यकालमा उनले गर्ने सबै व्यवहार गंगालाई अनौठो लाग्थ्यो । सात वर्षको उमेरसम्म पनि रिजन नबोल्ने, कोहीसँग घुलमिल नहुने र अनौठा व्यवहारहरु धेरै गर्न थालेपछि उनको उपचारतर्फ लागियो । उपचारपछि गंगालाई थाहा भयो, रिजनलाई अटिजम भएको रहेछ ।
अटिजम भन्ने शब्द उनका लागि नयाँ थियो । अटिजम के हो ? भन्ने कुरा अझै पनि हामी धेरैलाई थाहा छैन । अटिजम भन्नाले बालबालिकामा लाग्ने कुनै प्रकारको रोग होइन । यो एउटा मस्तिष्कको विशेष अवस्थामात्र हो । यो एक किसिमको जन्मजात विशेष अवस्था हो ।

अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप, सञ्चारसम्बन्धी सीप, र सिकाइको क्षमता कम हुन्छ । यसलाई बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या पनि भनिन्छ । जुन समस्या रिजनमा पनि छ ।
उनलाई यस विद्यालयमा भर्ना गरिएको दुई तीन महिनामै धेरै परिवर्तन आएको गंगा न्यौपाने बताउँछिन् । उनी भन्छिन्, ‘अटिजम समयमै पहिचान गर्न सकिएको भए बच्चामा धेरै सुधार आउँथ्यो होला । बाबुलाई अटिजम विद्यालयमा भर्ना गरेपछि उसले दैनिकी क्रियालाप, खाना खाँदा हात धुने, दाँत माझ्ने, बोलाउँदा सुन्ने र आउने गर्न थालेको छ । अटिजम भएका बालबालिकाको अभिभावकले दुःख बेहोर्नु परेको भन्दै उनले समयमै यसको पहिचान गरी विहेवियर थेरापी दिन आग्रह गर्छिन ।

यस्तै समस्या भरतपुर ९ शरदपुरका आयुष पौडेलमा पनि छ । उनको दैनिकी क्रियाकलापलाई परिवर्तन गराउन उनकी आमा बिनिता पौडेल आफ्ना अन्य कामहरु छोडेर विद्यालयमै दिन बिताउने गरेकी छन् । झट्ट हेर्दा सामान्य अवस्थामा आयुषका क्रियाकलाप भने प्रायः असामान्य छन् । आयुष अहिले १३ वर्ष पुगे । सात वर्षको उमेरसम्म उनले आमाबाबा बाहेक अन्य केही शब्द बोल्दैन थिए । उनीमा एक्लै खेल्न मन पराउने, अस्वभाविक रुपमा हाँस्ने÷कराउने, सामान्य दुखाइ हुँदा चिच्याउँदै रुने जस्ता समस्या धेरै थिए ।
अटिजम विद्यालयमा भर्ना गरिसकेपछि उनीमा धेरै परिवर्तन आउन थालेको बिनिता बताउँछिन् । उनी भन्छिन्, ‘सुरुमा शौचालय नचिन्ने, भोक तिर्खा लागे पनि भन्न नसक्ने, घरमा भएका समानहरु फाल्ने, अनायसै कुनै बेला अन्य व्यक्तिलाई झम्टिन जाने गथ्र्यो । अहिले यी क्रियाकलाप गर्न छोडेको छ ।’ अटिजम भएका बालबालिकालाई सामाजिक व्यवहार गराउन अभिभावकको मूख्य भुमिका रहेको भन्दै अभिभावकले नै उनीहरूसँग सबैभन्दा बढी समय बिताउनुपर्ने उनको भनाइ छ ।
विद्यालय नहुँदा घरमै उनीहरुलाई दैनिक क्रियाकलाप सिकाउँदा त्यति प्रभाव नपरेको भन्दै अभिभावहरुले उक्त विद्यालय सञ्चालनमा आएपछि सबै बालबालिकामा परिवर्तन देखिएको उनीहरु बताउँछन् ।

बालबालिकालाई कक्षा भर्ना गर्नुपूर्व विद्यालयले आमा र बच्चा दुबै जनालाई तालिम दिने गरेको छ । करिब तीन महिनाको तालिम प्रदान गरेपछि बच्चालाई कक्षा भर्ना गरिने नेपाल बाल संगठन बाल मन्दिरका सभापति तथा विद्यालयका अध्यक्ष रवि किरण पौडेलले बताए ।
नेपालमा केही स्थानमा अटिजमका निजी विद्यालय छन् । नीजि विद्यालयमा आर्थिक पहुँच नपुगेका कारण अटिजम भएका धेरै बालबालिकाहरु विद्यालयसम्म पुग्न सकेका छैनन् । सोही अवस्थालाई मध्यनजर गर्दै नेपाल बाल संगठनले सरकारी विद्यालय स्थापना गरेको अध्यक्ष पौडेलले बताए । उनले भने, ‘विद्यालय सञ्चालनमा आएको ६ महिनामा बालबालिकामा परिवर्तन आउँदा अभिभावक उत्साहित हुनुहुन्छ । यही अनुसार बालबालिकामा सुधार आउँदै गयो भने यस विद्यालयमा जनशक्ति थप गरी आवासीय विद्यालय बनाउन पहल समेत गर्न सकिन्छ ।’

विद्यालयमा हाल चितवनका मात्रै बालबालिका रहेका छन् । बाहिरी जिल्लामा अटिजम भएका बालबालिबालाई सरकारी विद्यालयमा भर्ना गर्न इच्छुक अभिभावकले जुनसुकै समयमा पनि आफ्ना बालबालिका ल्याउन सक्ने अध्यक्ष पौडेल बताउँछन् ।
अटिजम विद्यालय २०७८ भदौमा स्थापना गरिएको हो । नेपाल बाल संगठन बालमन्दिरले भरतपुर महानगरको सहयोगमा उक्त विद्यालय सञ्चालनमा ल्याएको हो । यो विद्यालय सरकारी स्तरमा नेपालकै पहिलो हो । अटिजम स्कुलमा हाल ३० जना विद्यार्थी रहेका छन् ।

विद्यालयमा बालबालिकालाई आधारभुत सिकाइका साथ मनोरञ्जन, खेलकुद लगायतका गतिविधिहरु सिकाउने गरिएको छ । उक्त विद्यालयमा फरक फरक क्षमता भएका बालबालिकाहरु रहेका छन् । उनीहरुको क्षमता पहिचान गरी सिपमुलक काममा लगाइने उनको भनाइ छ ।


