चितवन । चितवनमा मोटरसाइकल र स्कुटर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका ५ बस्ने २३ बर्षीय समिर महतो र कालिका ५ बस्ने ३० बर्षीय धन बहादुर वाईवा रहेका छन् । उनीहरुलाई हिजो (बिहिबार) प्रहरीले चोरीको मोटरसाईकल, स्कुटर सहित पक्राउ गरेको हो ।
महतोलाई वास्तविक ईन्जिन र चेसिस नम्बर हटाई अन्य पुरानो स्कुटरको ईन्जिन तथा चेसिस नम्बर जोडी चलाएको अवस्थामा प्रहरीले भरतपुरबाट प्रदेश ०२-०३-०२३ प ००७९ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको थियो ।
प्रारम्भिक अनुसन्धान गर्दा उक्त चोरीको स्कुटर वाईवालाई महतोले दिएको खुल्न आएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट चोरी मुद्धामा अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

