चितवन । चितवनको देवघाटधाममा आजबाट बोलबम मेला लागेको छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटधाममा साउने सोमबारका रुपमा मनाइने बोलबम मेलाको तयारी फितलो देखिएको छ ।
जहाँ मेला लाग्छ, त्यहाँ भिख माग्ने परिपाटी पहिल्यै देखिकै हो । स्थानीय निकाय र बालअधिकारकर्मीहरुले सडकबालबालिकाको हकहितका निम्ति जति नै नारा लगाए पनि बालअधिकारको कुनै सुुनिश्चता भएको देखिदैन । त्यसको प्रष्ट उदाहरण हो, देवधाटधामको बोलबम मेला ।
खास अर्थमा बालअधिकार भनेको बालबालिकाका लागि प्राप्त हुने विशेष अधिकार हो । तर, चितवनको देवघाटधाम मेलामा बालबालिकाका लागि प्राप्त हुने विशेष अधिकार त के, सामान्य अधिकार लेखपढबाट वञ्चित गराएर भिख माग्न प्रयोग गरिएको छ ।

देवघाटधाममा पाँच लाखभन्दा बढी भक्तजनहरुले दर्शन गर्न आउने अनुमान हुँदा बालअधिकारकर्मी एवं नेपाल बाल संगठन बाल मन्दिर चितवनका सभापति रविकिरण पौडेलले चितवनको ठूलो बजार नारायणगढलगायत जिल्ला भर बालबालिकालाई माग्न, बालश्रममा प्रयोग गरिएको पाइने बताए । पौडेलले भने, ‘यो एउटा ठूलो समस्या हो । चितवनका भन्दा पनि जिल्ला बाहिरबाट बालबालिका लिएर आएर माग्न प्रयोग गरिन्छ, तर जिल्ला पनि त्यो समस्या छ । उनले भने, ‘यसतर्फ स्थानीय सरकार, बाल संरक्षण संस्था, अधिकारकर्मी, प्रहरी, प्रशासन र केन्द्र सरकारको ध्यान जान जरुरी छ ।’

भरतपुर महानगरले मेला सुरु हुनुअघि पूर्वतयारी गर्न नसक्दा बालबालिका भिख माग्न प्रयोग भएको बताएको छ । महानगरको महिला तथा बालबालिका शाखाकी बालकल्याण अधिकारी शान्ता पौडेलले मेलाको पूर्वतयारी गर्न नस्क्दा देवघाट धाममा बालबालिका माग्न बसेको स्वीकार गरेकी छन् । मेला सुरु हुनु केही दिनअघि नै देवघाटका टोल विकास संस्था र वडा कार्यालयमा बालबालिकालाई प्रयोग गरी माग्न बस्न नदिनु भन्दै निर्देशन नदिएका कारण बालबालिका प्रयोग भएको उनले बताइन् ।

महानगरले आगामी दिनमा व्यवस्थापनलाई कडाइ गरिने जनाएको छ । माग्नका लागि बालबालिकालाई प्रयोग हुन नदिन वडा र टोल विकास संस्थालाई निर्देशन दिइने बालकल्याण अधिकारी पौडेलले बताइन् ।


