चितवन । आज साउनको पहिलो सोमबार चितवनका मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।
आज बिहानैदेखि भरतपुरको धनगढा मन्दिर, नारायणी किनारस्थित हरिहर मन्दिर र भरतपुरको महाकालेश्वर मन्दिरमा भक्तजनको भिड छ। कोरोनाको जोखिम बढेको भन्दै मन्दिरहरुमा भक्तजनलाई मास्कको प्रयोग गर्न मन्दिर व्यवस्थापन समितिका सदस्यले आग्रह समेत गरेका छन्।
यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
चितवनको देवघाटधाममा पनि भक्तजनको भिड लागेको छ ।

















