चितवन । चितवन राष्ट्रिय निकुञ्जले सौराहा सेक्टर कार्यालयमा आगजनी र तोडफोड गरेको आरोपमा एक जनालाई पक्राउ गरेपछि स्थानीयबासीले बुधवार प्रर्दशन गरेका छन्। गएको असार ७ गते बाघको आक्रमणबाट रत्ननगर ५ मगरटोलकी गीता अधिकारीको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले निकुञ्ज कार्यालयमा आगजनी र तोडफोड गरेका थिए।
घटना भएको करिब एक महिनापछि मगरटोलकै खड्कबहादुर श्रेष्ठलाई निकुञ्ज र प्रहरीको संयुक्त टोलीले मंगलबार दिउँसो पक्राउ गरेको थियो। पक्राउ गरिएका श्रेष्ठलाई रिहाईको माग गर्दै अधिकारीका आफन्त र स्थानीयले निकुञ्जको गेटमा प्रर्दशन गरेका हुन्। गीता अधिकारीका ससुरा राम अधिकारी, श्रीमान धनबहादुर अधिकारीसहित प्रर्दशनमा उत्रिएका स्थानीयबासीले निकुञ्जविरुद्ध चर्को नाराबाजी गरेका थिए।
आफन्त र स्थानीयले घट्ना भएको भोलिपल्ट असार ८ गते भएको सहमतिविपरित श्रेष्ठलाई पक्राउ गरिएको भन्दै श्रेष्ठको रिहाइ बिनासर्त हुनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए। स्थानीयवासी प्रर्दशनमा उत्रिएपछि थप घटना हुन नदिन प्रहरी र नेपाली सेनाको टोलीले निकुञ्जको पूर्वी सेक्टर कार्यालयमा सुरक्षा दिएका थिए।
श्रेष्ठलाई सौराहाको ड्याम साइटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। श्रेष्ठलाई पक्राउ गरी निकुञ्जको मुख्यालय कसरामा राखिएको छ। पक्राउ परेका श्रेष्ठसहित घटनामा संलग्न ८ जनाको पहिचान भएको र अन्य व्यक्तिहरुको पनि पहिचान गर्ने काम भइरहेको निकुञ्जले जनाएको छ।
घट्ना भएको भोलि स्थानीय जनप्रतिनिधि, मध्यवर्ती तथा सामुदायिक वनका अध्यक्ष तथा निकुञ्जको बीचमा पीडित परिवारलाई क्षतिपूर्तिको लागि पहल गर्ने, कसैलाई पनि धरपकट नगर्ने, महिलालाई आक्रमण गर्ने बाघको उचित व्यवस्थापन गर्नेलगायतको सहमति भएको थियो। निकुञ्जले सहमतिविपरित मृतक गीता अधिकारीका भिनाजुसमेत रहेका श्रेष्ठलाई पक्राउ गरेको भन्दै पीडित पक्ष पुनः आक्रोशित बनेका हुन्।

