चितवन । भरतपुर महानगरपालिका ६ गीतानगरकी सीता सुवेदीका लागि जेठ २३ कालो दिन बनेको छ । २०६२ साल जेठ २३ गते अर्थात् आजभन्दा १७ वर्षअघि आजकै दिन सम्पूर्ण माडीबासी, सम्पूर्ण चितवनबासी र पुरै देश नै शोकमा डुबेको थियो ।
माडी नगरपालिका साविक अयोध्यापुरी निवासी सीता सुवेदी, उनका श्रीमान आत्माराम सुवेदी र डेढ वर्षकी छोरी अञ्जली सुवेदीलाई लिएर गीतानगरमा निर्माण भइरहेको घर जाँदै थिए । सोही क्रममा बाँदरमुढे खोलामा तत्कालीन विद्रोही माओवादीले सार्वजनिक यात्रुबाहक बसलाई निशानामा राखेर गरेको विस्फोटमा उनका श्रीमान र छोरीसँगै ४२ जनाले ज्यान गुमाए ।
सुवेदीलगायत उक्त घटनाका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । न त राहत नै । विभिन्न राजनीतिक दलले पार्टीको स्वार्थका लागि पीडितलाई न्याय दिने आश्वासन नदिएका पनि होइनन् । तर, घटना घटाइएको दुई दशक पुग्न लाग्दासम्म पनि पीडितको घाउ निको हुन सकेको छैन ।
त्यो दिनलाई स्मरण गर्दा सुवेदीलाई भक्कानो फुटेर आउँछ । उनले यो घटना स्मरण समेत गर्न सकेकी छैनन् । ‘कलिलो उमेरमा सिन्दुर पुछियो । एकातिर जिवनभर सँगै जिउने बाचा कसम खाएका श्रीमान, अर्कोतिर काखको छोरी गुमाउनुपर्दा कसरी सम्हालिएको छु त्यो कल्पना गर्न पनि सकेकी छैन’ उनी भन्छिन, ‘पीडाले भरिएको मन र जिन्दगीभरको आलो घाउमा मल्हम लाग्ला भन्दा झन कोट्याइएको छ । जसो भए पनि यो आत्मालाई सम्हालेरै हिँडिँरहेकी छु । हामीले न्याय पाउने कहिले ?’

श्रीमान गुमाएपछि सुवेदीलाई पारिवारिक जिम्मेबारी थपियो । उक्त घटनामा आफू पनि घाइते भइन् । आफ्नो उपचारको खर्च जुटाउन मुस्किल थियो, र अझै पनि उपचार गरिरहनुपर्ने अवस्था छ, तर उनीसँग आर्थिक उपचार गर्ने कुनै उपाय नै छैन ।
पारिवारिक जिम्मेवारीको बोधले थिचिएकी सुवेदीलाई राज्य पक्षको अन्यायले थिचिँदा उनी सरकारदेखि नै आजित भएको बताउँछिन् । सरकारले आश्वासनमात्रै दिइरहने तर पीडितप्रति जिम्मेवारी बोध नहुँदा हरेक वर्ष आलो घाउमा नुन छर्नेमात्रै काम गरिरहेको उनी बताउँछिन् ।
उक्त घटनामा धेरैका बालकालिकाले अभिभावक गुमाउनुपरेको छ । कतिपय बाबुआमाको कोख रित्तियो, कोही बाबुआमाले बुढेसकालको साहरा गुम्यो । कोही नारीको सिन्दुर पुछियो । यतिमात्रै नभएर घाइते भएका ७५ जना अपाङ्ग भएर जिन्दगीभर केही गर्न नसक्ने अवस्थामा पुग्नुपर्यो । तर अझै पनि सरकारसँग पीडितले न्यायको भिख माग्दा न्याय पाउन सकेका छैनन् ।
उक्त घटनामा सुवेदीको दाहिने खुट्टा चार ठाउँबाट भाँचिएको र ढाडमा गहिरो चोट पुगेको छ । अहिलेसम्म उनी औषधिकै भरमा बाँचिरहेको बताउँछिन् । उक्त घटनामा घाइते भएकी सुवेदीको रातो किताबमा नाम समेत नराखेको बताउँछिन् । उनी भन्छिन् ‘पटक–पटक म घाइते हुँ भनेर जिल्लामा नाम सुचीकृत गर्न जाँदा नाम सुचीकृत पनि गरिएन । रातो किताबमा नाम नभएपछि झनै बेवास्ता गरियो ।’
१७ वर्षसम्म न्याय पाउने आसामा बसेकी सुवेदीले अझै पनि निर्दोष नागरिकको न्यायका लागि सरकारले आँखा चिम्लिएको सुवेदी बताउँछिन् । उनी भन्छिन्, ‘अहिलेसम्म न्यायका लागि सुनुवाई हुन सकेन । अझै पनि आवाज उठाउन छाडेका छैनौँ । न्याय पाइन्छ भन्नेबारे अब त आशा पनि मरिसक्यो ।
सोही घटनामा घाइते भएकी मंगली पुनले नयाँ जीवन त पाइन तर न्याय पाउन नसक्दा भने दुःख लागेको बताउँछिन् । जेठ २३ गते बिहान मामाघर हिँडेकी मंगली दुर्घटनामा घाइते भइन् । उनको देव्रे हात र ढाड भाँचियो । आँखा र कानमा समेत असर पुगेका कारण उनी अहिले राम्रोसँग कान सुन्न नसक्ने र दरिलो काम गर्न नसक्ने अवस्थामा छिन् । उनी भन्छिन् ‘गर्भवती अवस्थामा दुर्घटनामा परेँ । शारीरिक रुपमा अशक्त भएकै कारण श्रीमानले अर्को विवाह गरे ।’

सम्पत्तिको नाममा रहेको एक कठ्ठा जग्गा आफ्नो उपचारमै सिध्याएर उनी अहिले माइतीको आश्रय लिइरहेकी छन् ।
‘सरकार तथा स्थानीय सरकारले चुनाव तथा यही कालो दिनका बेला आएर आश्वसन देखाएर जान्छन्’ उनी भन्छिन् ‘राजनीतिक स्वार्थ पुरा गर्न पीडितलाई दिएको आश्वासन कहिले पुरा गर्छौ ?’ निर्दोष जनताको हत्यारा पत्ता लगाई घाइते तथा मृतकका पीडित परिवारले न्याय पाउने आशा मरेको उनी बताउँछिन् ।
उक्त घटनामा धेरैका बालकालिकाले अभिभावक गुमाउनुपरेको छ । कतिपय बाबुआमाको कोख रित्तियो, कोही बाबुआमाले बुढेसकालको साहरा गुम्यो । कोही नारीको सिन्दुर पुछियो । यतिमात्रै नभएर घाइते भएका ७५ जना अपाङ्ग भएर जिन्दगीभर केही गर्न नसक्ने अवस्थामा पुग्नुपर्यो । तर अझै पनि सरकारसँग पीडितले न्यायको भिख माग्दा न्याय पाउन सकेका छैनन् । पीडितहरुले आजकै दिन पनि बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार र जिविकोपार्जनको बाटो खोजिरहेका छन् । पीडितको आँसु कहिले पुसिन्छ सरकार ?

