चितवन । नेपाल पत्रकार महासंघ चितवनको नेतृत्वमा गएको पत्रकारको टोलीले जिल्लामा सूचनाको सहजरुपमा सहजीकरण गर्नका लागि प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको ध्यानाकर्षण गराएका छ । पछिल्लो समय पत्रकारहरुलाई सूचना पाउन कठिन भइरहेकाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले बताए ।
विभिन्न घटना तथा आवश्यक सूचनाका लागि माग गर्दा सरकारी कार्यालयहरुबाट समयमै सूचना नदिने, सूचना दिन ढिला सुस्तीगर्ने, पत्रकारलाई समाचारजन्य सामग्री संकलनमा रोक लगाउने जस्ता प्रेस स्वतन्त्रता विरोधी गतिविधि भइरहेकाले यसको अन्त्य गर्नुपर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।
सम्पूर्ण सरकारी र सार्वजनिक निकाय सूचनामैत्री हुनुपर्ने र आवश्यक सूचनाहरु तत्काल उपलब्ध गराउनका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको अधिकारीले बताए । पत्रकारहरुको टोलीसँग प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आफूले सूचनाको सहजीकरण गराउने प्रतिबद्धता जनाएका छन् । कार्यालय प्रमुखहरुको बैठक तथा सूचना अधिकारीहरुको नियमित बैठकमा आफूले सूचनालाई सहज गराउनका लागि निर्देशन दिने लामिछानेको भनाइ छ ।
सार्वजनिक संस्थान तथा सरकारी कार्यालयहरु सूचनामैत्री हुनुपर्ने भन्दै आवश्यक सबै सूचना दिनका लागि बैठकबाट निर्देशन दिने लामिछानेको भनाइ छ । नेपालको संविधान २०७२ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ ले समेत विभिन्न पाँच प्रकारका सूचना बाहेक सबै सूचना दिनुपर्ने बाध्यकारी नियम बनाएको छ । तर पछिल्लोपटक संवेदनशील घटना, दुर्घटना लगायत अन्य सरकारी निकायका सूचना अधिकारीले तथ्यांक नदिने, सूचना नदिने र कल नउठाउने गर्दै आएका छन ।
नेपाल पत्रकार महासंघका अध्यक्ष अधिकारीसहित प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, सचिव दीपेन्द्र अधिकारी, पूर्व उपाध्यक्ष रमेशकुमार पौडेलसहितका पत्रकारहरुले सहज रुपमा सूचना उपलब्ध गराउन भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी लामिछानेको ध्यानाकर्षण गराएका हुन् ।

