चितवन । नेपाली कांग्रेस बागमती प्रदेशका नेता अनिल परियार (कान) माथि भरतपुरमा छुरा प्रहार गरी हत्या भएको छ । छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि अस्पताल पुर्याइएको भए पनि उनको मृत्यु भएको हो ।
भरतपुर–७ कृष्णपुर खेलमैदाननिर आज साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो । छुरा लागेपछि घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार परियारका १० भन्दा बढी ठाउँमा छुरा हानिएको छ । ‘घुँडाबाट माथि जताततै छुरा हानिएको छ । १० भन्दा बढी ठाउँमा छुरा हानिएको देखिन्छ’, स्रोतले भन्यो । घटनाको अनुसन्धानका लागि अधिकारीसहितको प्रहरी टोली चितवन मेडिकल कलेजमा पुगेको छ ।
छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको अधिकारीले जानकारी दिए ।

