चितवन । नयाँ वर्षको पहिलो महिना वैशाखलाई विवाहको मुख्य सिजन मानिन्छ । अझै नयाँ वर्षमा हामी नेपालीहरु विलासिताका वस्तुहरु धेरै नै खरिद गर्छौं । वैशाखमा नव विवाहि जोडी बाँधिने हुँदा सुनचाँदी खरिद गर्ने चलन छ । यही चलनले गर्दा व्यवसायीलाई यो सिजनमा धेरै लाभ हुने गर्छ। तर यसपटक भने बजार त्यति चलायमान हुन नसकेको व्यवसायीहरु बताउँछन् ।
अहिले चितवनको मूख्य बजार नारायणगढका सुनचाँदी पसलहरुमा माग अनुसार सुन पुर्याउन नसक्दा सुनचाँदी व्यवसाय सुस्त हुँदै गएको सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष डा.यमबहादुर बिकले बताए । चितवनमा दैनिक चार किलोसम्म सुन आवश्यक पर्छ तर अहिले नेपाल राष्ट्र बैक तथा सुनचाँदी व्यवसाय महासंघबाट आयात शून्य छ । बिक भन्छन्, ‘अहिले मागअनुसार सुन पुर्याउन एकदमै मुस्किल छ । आयात शून्य हुँदा व्यापारको स्थिति उल्टो भएको छ । पहिला व्यवसायीले ग्राहकलाई जति सक्यो उती बढी बेच्ने गर्थे तर अहिले ग्राहकलाई अत्यावश्यक भन्दा कम दिएर पठाउनुपर्ने अवस्था छ ।’
सरकारले बाहिरबाट सुन मगाउनका लागि डलर भुक्तानी गर्नुपर्ने हुन्छ, तर सरकारसँग सञ्चित डलरको अभावका कारण सुन आयात हुन नसकेको अध्यक्ष बिक बताउँछन् । उनी भन्छन् ‘देशको अर्बौ रुपैयाँ लगानी रहेको क्षेत्र जहाँ धेरै जनशक्ति रोजगारीका लागि यसै क्षेत्रमा आश्रित छन् । यसरी सुनको अभाव हुँदा व्यवसायबाट धेरै व्यवसायी विस्थापित हुने र धेरैले रोजगारी गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।’ यस क्षेत्रलाई स्थापित गर्न सरकारको महत्वपूर्ण भूमिका रहनुपर्ने अध्यक्ष बिकको भनाइ छ ।
सुनचाँदी व्यवसायीहरुका लागि राम्रो सिजन भएपनि यसपटक व्यवसाय सोचेजस्तो नभएको नारायणगढस्थित ‘जय सन्तोषी माँ’ सुनचाँदी पसलका सञ्चालक रुविन रामुदाम बताउँछन् ।
सरकारले बाहिरबाट सुन मगाउनका लागि डलर भुक्तानी गर्नुपर्ने हुन्छ, तर सरकारसँग सञ्चित डलरको अभावका कारण सुन आयात हुन नसकेको अध्यक्ष बिक बताउँछन् । उनी भन्छन् ‘देशको अर्बौ रुपैयाँ लगानी रहेको क्षेत्र जहाँ धेरै जनशक्ति रोजगारीका लागि यसै क्षेत्रमा आश्रित छन् । यसरी सुनको अभाव हुँदा व्यवसायबाट धेरै व्यवसायी विस्थापित हुने र धेरैले रोजगारी गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।’
बैंकमा तरलता अभाव तथा देशभर आर्थिक मन्दी भइरहेको अवस्थामा सुनचाँदीको भाउ बढ्दै गएका कारण व्यापार खस्किँदै गएको रामुदामले बताए । ‘व्यापार हुनुपर्ने विवाहको सिजनमा पनि व्यापार हुन सकेको छैन ।’ उनी भन्छन् , ‘अहिले देशमा चुनावी माहोल छ । मानिसहरु चुनावी प्रचारप्रसारमा दौडिएका छन् । विवाहको सिजन भएपनि विवाहका लागि आउने गहनाको माग घटेको छ । मूख्य कुरा त माग अनुसार नै पुर्याउन सकिएको छैन ।’
सुनचाँदी व्यवसायी रामुदामुका अनुसार अहिले बजारमा सुनचाँदीको पनि अभाव भइरहेको छ । अहिलेको अवस्थामा सरकार तथा महासंघले व्यवसायीहरुलाई पर्याप्त मात्रामा सुन दिन नसकेको रामुदामको भनाइ छ।
त्यस्तै लोकमान एण्ड सन्सका सञ्चालक सलिनमान शाक्यले पनि बजारमा सुन आयात नभएका कारण व्यापार सुस्त हुन थालेको बताए । अहिले सुन आयातमा समस्या हुँदा बजारमा ग्राहकको माग अनुसार सुन पु¥र्याउन नसकिएको बताउँदै उनी भन्छन्, ‘सुन महँगो भएका कारण अहिले बेच्न आउने ग्राहक बढी छन् । ग्राहकबाट किनेको सुनले मात्रै भए पनि बजार केही मात्रामा धानिएको छ ।’
माग अनुसारको सुन नपाएर कारोबार घटेको व्यवसायीहरुको भनाइ छ । सुन नपाउँदा कारोबार हुन नसकेको भन्दै वितरण प्रणाली प्रभावकारी बनाउने पहल गरिदिन राष्ट्र बैङ्कसँग आग्रह गरिएको व्यवसायीहरुले बताए ।

