चितवन । चितवन कांग्रेसमा दुई धार देखिएको छ । भरतपुर महानगरमा भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गराएका छन्।
काँग्रेसबाट पूर्व राष्ट्रिय सभा सदस्य पौडेलले पार्टीका कार्यकर्ताको र्यालीसहित उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा उम्मेदवारी दर्ता गराएका थिए । उनले बागी उमेदवार कुनै हालतमा फिर्ता नगर्ने जनाएका छन् । यता चितवन कांग्रेस सभापति राजेश्वर खनाल बागी उमेदवार फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
बागी उमेदवार पौडेल जस्तोसुकै कारबाही पनि भोग्न तयार भएका छन् । सत्ता गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेपछि चितवन काँग्रेसको एउटा पक्ष असन्तुष्ट थियो । सोही समूहको प्रतिनिधित्व गर्दै पौडेलले बागी उम्मेदवारी दर्ता गरेका छन् । चितवन कांग्रेसमा दुई धार देखिएको छ ।
एउटा धार गठबन्धनको पक्षमा छ भने अर्को धार बागी उमेदवार पौडेलको पक्षमा देखिएको छ । भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी नेतृत्व रेनु दाहालले मेयरमा उम्मेदवारी दर्ता गराएकी छन् । उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

