चितवन । चितवनमा घर जग्गाको कारोबार सुस्त हुँदै गएको छ । कोरोना महामारीको प्रभाव, वित्तीय प्रणालीमा तरलता अभाव चुलिँदै जाँदा कर्जा प्रवाह हुन सकेन, जसका कारण घरजग्गाको कारोबार सुस्त भएको हो ।
देशमा तरलता अभाव र सेयर बजारजस्ता पुँजीगत लाभ आर्जन गर्ने सट्टेबजारको निराशाजनक अवस्थाका कारण घर जग्गाको कारोबारमा कमी आएको मालपोल कार्यालय चितवनले बताएको छ ।
मालपोत कार्यालय चितवनका सूचना अधिकारी रामप्रसाद खनालका अनुसार गत मंसिर महिनादेखि चितवनमा घर जग्गाको कारोबार एकदमै न्यून हुँदै गएको छ । यसले गर्दा राजस्व संकलनमा गिरावट आएको छ । गत फागुन महिनाको तुलनामा चैतमा दुई करोडभन्दा बढी राजस्व संकलनमा गिरावट आएको छ ।
‘कार्यालयका कर्मचारीलाई काम भ्याईनभ्याई हुन्थ्यो । विगत २ महिनायता कामको चाप कम हुँदै आएको छ ।’ उनी भन्छन्, ‘बैक तथा वित्तीय संस्थाहरुको धितो पारितको काममा तीन वटा रजिष्ट्रेशन फाँटबाट कम्तीमा पनि एउटा फाँटले ५० भन्दा बढी लिखत पास गर्ने गथ्र्यो । अहिले मुस्किलले ८÷१० वटा लिखत पास गर्ने काम हुने गरेको छ ।’
वित्तीय प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव निरन्तर चर्किन थालेको छ । मुलुकमा वित्तीय प्रणालीमा तरलता अभावको समस्या चुलिदै आएको छ । यसको प्रत्यक्ष असर घर जग्गामा पनि परेको सूचना अधिकारी खनालको भनाइ छ ।
मालपोत कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १ अर्व ५६ करोड ¬६० लाख १६ हजार ८१४ रुपैयाँ राजस्व संकलन गरेको छ । तथ्यांकअनुसार गत वर्षदेखि नै कारोबार सुस्त हुँदै आएको देखिन्छ ।
मालपोत कार्यालयमा साउन महिनायता ३७ हजार ११५ वटा कारोबार भएका छन् । जसमध्ये लिखत पारित १३ हजार ७६४ वटा, नामसारी ७७९, संशोधन १ हजार ३९७, हाल साविक ३११, रोक्का ११ हजार ८७, फुकुवा ९ हजार १४, दाखिल खारेज १८७, प्रतिलिपि प्रक्रिया ५१४ वटा कारोबार भएका छन् । उक्त कारोबारबाट गत भदौदेखि नै निरन्तर मासिक २ करोड माथिको गिरावट आएको छ ।
कार्यालयले गत वर्ष ४२ हजार ८० वटा कारोबार गरेको तथ्यांकमा उल्लेख छ । जसबाट कार्यालयका अनुसार गत आव २०७७÷७८ मा १ अर्व ३२ करोड १२ लाख ३ हजार ५२० रुपैयाँ राजस्व असुली गरेको थियो ।
मालपोत कार्यालय चितवनले रजिष्ट्रेशन दस्तुरबापत गत साउन महिनामा १६ करोड ३३ लाख ३७ हजार ९९८ रुपैयाँ राजस्व उठाएको थियो । यस लगत्तै मासिक ५० प्रतिशतको हाराहारीमा घट्न थालेको छ । कार्यालयले चैत महिनामा ८ करोड ९४ लाख ८६ हजार ४९४ रुपैयाँमात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा रजिष्ट्रेशन दस्तुरबापत कुल राजस्व ९९ करोड ७७ लाख ९५ हजार १०२ रुपैयाँ उठेको छ ।
मालपोत कार्यालयले चालु आर्थिक वर्षको चैतसम्ममा सेवा करबापत कुल राजस्व ११ करोड ६९ लाख ९८ हजार ५२२ रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै विलम्ब शुल्क बापत ६७ हजार ८००, पुँजीगत लाभ करबापत ४२ करोड ५७ लाख ३१ हजार ९२५, नारायणी तथा राप्ती सहायता करबापत २ करोड ५२ लाख २३ हजार ४६७ रुपैयाँ संकलन भएको छ ।

