चितवन । विद्यालयमा यौन दुव्र्यवहारका घटना एकपछि अर्को बढिरहेका छन् । गुरुबाटै छात्राहरु यौन दुव्र्यवहारको शिकार भइरहेका छन्। शास्त्र अनुसार ‘गु’ को अर्थ अन्धकार वा अज्ञान हुन्छ र ‘रु’ ले प्रकाशलाई जनाउँछ । जसले अज्ञानरूपी अन्धकारबाट ज्ञानरुपी प्रकाश दिने गर्छन उनी नै गुरु हुन् । तर, समाजले ‘भगवान्’ मानेका गुरुबाट विद्यार्थीमाथि यौन दुर्व्यवहारका एकपछि अर्को घटना सार्वजनिक भइरहेका छन् ।
यसको पछिल्लो उदाहरण हो, गैँडाकोटको जनक मावि । जहाँ शिक्षक कपिल घिमिरेले ‘पोर्न भिडियो’ देखाएर दुव्र्यवहार गरेको आरोपमा विद्यार्थी आन्दोलित भए । विद्यालय तोडफोडसम्म भयो । ठूलो क्षति भयो विद्यालयमा । एक साताअघि चितवनको गंगानगर माविका शिक्षकहरू ५८ वर्षीय फणिन्द्र भट्टराई र ५२ वर्षीय विमलप्रसाद देवकोटा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परे । कक्षा ४ र ६ पढ्ने छात्राका अभिभावकहरूले उनीहरूविरुद्ध उजुरी दिएका थिए । आरोपितविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।
चैतको पहिलो साता चितवनको माडीस्थित सोमेश्वर उच्च माविको कक्षा ९ का एक छात्राले यौन दुर्व्यवहारको आरोप लगाएपछि शिक्षक सुरज लामिछाने पक्राउ परेका थिए । यसरी पछिल्लो समय विद्यालयभित्र छात्रा दुव्र्यवहारको घटना बढिरहेको छ । यसमा कतिपय शिक्षाविद्हरुले छात्राहरुमा बढेको चेतनाको स्तर मानेका छन् । नेपालमा यौन दुर्व्यवहार गर्नेलाई ३ वर्षसम्म कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
कस्तोलाई मानिन्छ यौन दुव्र्यवहार
‘कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरीबिना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा यौन दुव्र्यवहार मानिन्छ ।
यसबाहेक यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्विर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा’, यौन दुर्व्यवहार मानिने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।

