चितवन । रत्ननगर नगरपालिका चितवनकै पहिलो बालश्रम मुक्त नगर बनेको छ । रत्ननगर बालमैत्री नगर पनि बनेको छ । ४२९ जना वालवालिकालाई श्रममुक्त गरी सो नगरपालिका बालमैत्री नगर बनेको हो । रत्ननगर जिल्लामा बालमैत्री नगर घोषणा हुने पहिलो नगर बनेकोे छ ।
मंगलबार नगरपालिकाको प्राङगढमा आयोजित कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले नगरपालिकालाई बालश्रम मुक्त तथा बालमैत्री नगर घोषणा गरेका हुन् । ६ वर्षको अवधिमा नगरभित्र रहेका ४२९ जना बालबालिकालाई श्रममुक्त नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको मेयर नारायण वनले बताए ।
नगरपालिकालाई वालमैत्री घोषणा गर्नुपूर्व श्रममुक्त गरेका मध्ये २८९ जनालाई विद्यालय भर्ना गरेर शिक्षा दिएको छ । १४० जनालाई सीपमुलक तालिम दिएर रोजगार बनाइएको मेयर वनले बताइन् । २०६४ सालबाट २०६८ सालसम्म आइपुग्दा ५५८ जना बालश्रमिक रहेका सो नगरपालिकामा २०७३ सालमा त्यो संख्या केही घटेर ४२९ मा झरेको थियो । नगरपालिकाभित्र बालश्रमिक छैनन् भन्ने सुनिश्चित गरी बालमैत्री घोषणाा गरिएको उपमेयर विमला दुवाडीले बताइन् । घोषणा सभामा मन्त्री खनालले मेयर वनलाई प्रमाणपत्र हस्तान्तरण गरी रत्ननगर बालश्रम मुक्त भएको उद्घोष गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले बालश्रम विरुद्ध आवाज उठाउने, आफूले पनि प्रयोग नगर्ने र प्रयोग गर्नेलाई कानुनी कारबाहीको लागि पहल गर्न भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा वालश्रम मुक्त भएका १६ वटै वडालाई प्रमाणपत्र, बालबालिकाको स्थितिपत्र सार्वजननिक तथा नगरस्तरीय बाल क्लव र वडास्तरीय बाल क्लवहरुलाई खेलकुदका सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री खनालले बालश्रम मुक्त र बालमैत्री नगर घोषणाले बालबालिकाको जीवनमा परिर्वतन ल्याउने बताए ।
मन्त्री खनालले बालअधिकारलाई राज्यले नीतिगत अंगको रुपमा लिएर काम गर्नुपर्ने र त्यसका लागि आफु प्रयत्नशील रहने बताए । प्रदेश सभा सासद कन्चन खनालले बालश्रमविरुद्ध आफूले प्रतिबद्धतामा हस्ताक्षर गरेको र बालश्रम विरुद्धका काम र अपराध गरेको पाइए खबरदारीसँगै कानुनी प्रक्रियाका लागि प्रयत्नशिल रहने बताइन । मेयर वनले आफ्नौ पछिल्लो पाँच वर्षे कार्यकालको महत्वपूर्ण काम बालमैत्री घोषणा रहेको बताए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, सामाजिक विकास समितिका संयोजक केशव आचार्य, एमालेका नगर अध्यक्ष ईश्वरी प्रसाद अर्याल, नेपाली काँग्रेसकी नगर सचिव अनिला अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष श्यामप्रसाद बराल, समाजबादी पार्टीका नगर अध्यक्ष बद्रिनाथ घिमिरे, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, नगरस्तरीय बाल सञ्जालकी अध्यक्ष रोजिसा घिमिरे, अधिकारकर्मी नविना गुरुङलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम महिला विकास अधिकृत दीपा घिमिरेले सञ्चालन गरेकी थिइन् ।

