चितवन । नेकपा एमालेका चितवन जिल्ला इन्चार्ज हुन् देवी ज्ञवाली । पोलिटव्युरो सदस्य पनि हुन् ज्ञवाली । उनी यतिबेला दिनरात पार्टीको काममा चितवनका हरेक गाउँगाउँ, घरघरमा पुगेका छन् । उनी भरतपुरका टोलटोलमा गएर भरतपुर महानगरमा एमालेले जित्ने दावीमात्र गर्दैनन्, पूरा हिसाबकिताब गरेर जित्ने आधार देखाइरहेका छन् । २०७४ सालको चुनावमा उनी भरतपुर महानगरको मेयरमा उम्मेदवार बनेका थिए ।
उनले भने, ‘२०७४ सालमा एक्लै लड्दा एमालेले जितेको हो नि, कसरी हराइयो यो सबैलाई जगजाहेर छ नि, म त हिसाबकिताब गरेर एमालेले कसरी जित्न सक्छ देखाइदिन सक्छु । यो दावी होइन, तथ्य हो ।’
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी चर्चा बटुलेको थियो भरतपुर महानगरपालिकाले । अहिले पनि भरतपुरमै धेरैको नजर छ । भरतपुर महानगरको मेयरमा रेनु दाहालले ४३ हजार १२७ मत ल्याएर जित्दा एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याए । राप्रपाबाट मेयरको उम्मेदवार बनेका र हाल माओवादीमा रहेका बद्री तिमिल्सिनाले ६ हजार ८४२ मत पाए । उपमेयरमा कांग्रेस माओवादी गठवन्धनबाट जितेकी पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर जितिन् । एमालेकी दिव्या शर्माले ३९ हजार ५२५ मत ल्याइन् । राप्रपाकी रिना गुरुङले ७ हजार २५२ मत ल्याइन् ।
ज्ञवाली भन्छन्, ‘एमालेले एक्लै लड्दा ४२ हजार ९२४ मत आएको होइन, देवी ज्ञवाली जितेर पनि कसरी हा-यो सबैलाई थाहा छ । अहिले एमालेको एउटा झिल्को चोइटिएको छ, हाम्रो पार्टीबाट नेकपा एकीकृत समाजवादीमा ३ प्रतिशत मात्रै मतदाता गएका छन् ।’ नेता ज्ञवालीका अनुसार पूर्व माओवादी पंक्तिको ३० प्रतिशत मतदाता एमालेमा आएका छन् । ३ प्रतिशत गए, ३० प्रतिशत आए । एमालेलाई २७ प्रतिशत फाइदा छ । उनले भने, ‘भरतपुरमा थपिएका नयाँ मतदाता आधा एमालेका छन्, वडापिच्छे हामीले हिसाब गरेका छौँ ।’
उनका अनुसार चितवनभरिका ९८ वटै वडामा एमालेले भेला र अन्तर्क्रिया गरिसकेका छ, टोल कमिटीहरू बनाएको छ । भरतपुर महानगरको हरेक घरमा एमाले पुगेको छ । पहिलेको गाविस अहिले वडा बनेको छ । हिजोका गाविसको प्रतिनिधित्व अहिले वडाले गर्न सक्दैन, त्यसैले टोलमा संगठन निर्माण गर्नुपर्छ भनेर लागिरहेका छौँ । उनले भने, ‘टोल विकास संस्थाहरूलाई आधार मानेर टोल कमिटी बनाएका छौं । चितवनमा हामीले झण्डै हजार टोल कमिटी बनाएका छौं । भरतपुर महानगरमा करिब ३०० टोल कमिटी बनेको छ ।’
उनको भनाइ अनुसार अघिल्लो निर्वाचनमा चितवनमा करिब ५०० जनप्रतिनिधिमध्ये एमालेबाट ३१९ निर्वाचित भएका थिए । कांग्रेस दोस्रो शक्ति हो । कांग्रेसले १०० भन्दा थोरै बढी जितेको छ । माओवादीले भरतपुर महानगरका तीन वटा वडाअध्यक्षसहित जम्मा ३६ जना जनप्रतिनिधि जितेको छ । अहिले पनि शक्ति, जनप्रभाव र प्रतिनिधिका हिसाबले एमाले पहिलो शक्ति हो । नेता ज्ञवालीले भने, ‘कांग्रेस र माओवादी जोड्दा पनि एमाले पहिलो शक्ति हो । हिजो गठबन्धन हुँदा पनि एमालेले जितेको होइन, एमालेको एक जना मतदाता यताउता भएका छैनन् ।’
’

