चितवन । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवार बनेमात्र गठबन्धन गरिने बताएको छ । गठबन्धनका अन्य कुनै उम्मेदवारलाई मेयरमा सघाउन नसकिने चितवन कांग्रेसले जनाएको छ ।
नेपाल कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भने, ‘भरतपुर महानगरमा गठबन्धन गरे पनि मेयरको उम्मेदवार कांग्रेसबाटै हुन्छ । गठबन्धन गर्ने तर मेयरमा अन्य दलका उम्मेदवारलाई सघाउन कांग्रेस चितवन तयार छैन । यस्तो अवस्था आयो भने नेपाली कांग्रेस एक्लै लड्छ ।’
मेयर पदमा कांग्रेसको उम्मेदवार रहने गरी गठबन्धनका दलहरूबीच तालमेल अघि बढाउने कांग्रेसले निर्णय गरेको सभापति खनाल बताउँछन् । आइतबार कांग्रेसको पार्टी कार्यालय कमलनगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले भरतपुर महानगरको मेयर पदमा कांग्रेसकै उम्मेदवार रहेको खण्डमा गठबन्धन अघि बढाउने नत्र गठबन्धन अगाडि नबढाउने निर्णय गरेको छ ।

