चितवन । हिजो साँझदेखि आज यो समाचार तयार पार्दासम्म सामाजिक सञ्जाल लगातार धुरुधुरु रोइरहेको छ । सामाजिक सञ्जालका भित्ताहरु रसाइरहेका छन् । सामाजिक सेवक गुमाउँदाको पीडामा गाउँटोल शोकमग्न छ ।
रत्ननगर टाँडी बजारका व्यवसायीहरु पनि शोकाकुल छन्, भावविह्वल भएका छन् । जेसिजकर्मीहरुमा सन्नाटा छाएको छ । रेडक्रसकर्मीहरु शोकाकुल छन् । सामाजिक अभियन्ताहरु मलिन छन् । पत्याउन नसक्ने घटना घट्यो, आखिरी फेरि नपत्याइ सुख पनि छैन । घटना हिजो बुधबार साँझको हो । रत्ननगरस्थित भानुचोकमा एउटा यस्तो दुर्घटना भयो, जुन दुर्घटनाले सामाजिक अभियन्ता लग्यो, सफल व्यवसायी लग्यो, जेसिजकर्मी लग्यो । कुशल राजनीतिज्ञ लग्यो । रेडक्रसकर्मी लग्यो । यही घटनाले आज पनि सामाजिक सञ्जाल रोइरह्यो ।
रत्ननगर नगरपालिका वडा नं ९ पूर्वपश्चिम राजमार्गमा पर्ने भानुचोकमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पती (श्रीमान् निरन्जन श्रेष्ठ र उनकी श्रीमती नयनतारा श्रेष्ठ ) को निधनले आज पनि सामाजिक सञ्जालका रोइरहेको छ । मौन छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको नारायणी यातायातको बसले नारायणगढबाट रत्नगरको टाँडी बजार गइरहेको बागमती प्रदेश ००२ प १८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दियो । ठक्करबाट घाइते दम्पतीको उपचारको क्रममा निधन भएपछि रोएको सामाजिक सञ्जालको आँखा ओभाउन सकेको छैन ।
घटना हिजो साँझ ५ बजेतिर हो । रत्ननगरको भानुचोक, नारायणगढबाट जाँदा जहाँबाट चार लेन सडक सुरु हुृन्छ, त्यही ठाउँमा दुर्घटना भएको प्रत्यक्षदर्शी बताउँछन् । निरन्जन श्रेष्ठ बहुमुखी क्षेत्रका सक्रिय व्यक्ति हुन् । उनी रत्ननगर २ शिवालय टोल चेम्बर मार्ग निवासी हुन् । टोल नै यतिबेला शोकमग्न छ । श्रेष्ठ कुशल व्यवसायी पनि थिए । उनले रत्ननगरको टाँडी बजारमा लवकुश नामको मोबाइल पसल चलाइरहेका थिए । उनको तीन छोरामध्ये एक छोरा विदेशमा छन् । एक छोरी छन् । उनी जेसीजकर्मी, रेडक्रसकर्मी पनि हुन् ।
श्रेष्ठ दम्पतीको असामयिक निधनप्रति सामाजिक अभियन्ता महादेवी खतिवडा सामाजिक सञ्जालमा लेख्छिन्– अल्पायुमा दुःखद समाचारले स्तब्ध बनायो बाबुहरु ३ जना प्यारी छोरी नाति नातिनी र ज्वाईसाबमा धैरधारण गर्ने शक्ति प्राप्त होस् हजुरहरुको परमधाममा बास होस् मेरो अति मिल्ने बैनी सदाका लागि अलबिदा !’
यस्तै, पत्रकार केशव भट्टराईले सामाजिक सञ्जालमा लेख्छन्, ‘मानिसको जीवनमा कसलाई कहाँनेर के हुन्छ यसै भन्न सकिँदैन । जे परे पनि सहनै पर्ने नियति छ । हिजो बेलुकी रोहित (श्रेष्ठ दम्पतीका छोरा) सँग चिया पिएर छुटेको एकैछिन पछि मोटरसाइकल दुर्घटनामा परी बुबाआमा दुवैको निधन भएको खबरले अत्यन्त भावविह्वल बनायो । अंकल निरञ्जन र अन्टी नयनतारा अब हाम्रो स्मृतिमा मात्रै रहनुभयो । उहाँहरुको स्वर्गमा बास होस् । मित्र रोहित श्रेष्ठलगायत शोकाकुल परिवारमा समवेदना ।’
रत्ननगर जुनियर जेसिजका महासचिव सन्दर्भ खनालले सामाजिक सञ्जालमा लेख्छन्, ‘रत्ननगर जेसिजका पूर्वअध्यक्ष आत्मीय दाजु र भाउजूको भानुचोकमा मोटरसाइकल दुर्घटनामा परी निधन भएकोमा उहाँहरु दुबैको आत्मा बैकुण्ठमा बास होस् । हार्दिक श्रद्धाञ्जली । समस्त रत्ननगर जुनियर जेसिज परिवार ।’
नेपाली कांग्रेस रत्ननगर ९ का सहसचिव रामचन्द्र पौडेल सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाका आजिवन सदस्य एवम् समाजसेवी प्यारो भाइ श्री निरन्जन श्रेष्ठ तथा उहाँका धर्मपत्नी सामाजिक अभियन्ता श्री नैनतारा श्रेष्ठज्युको हिजो अपरान्ह सवारी दुर्घटनामा भएको असामहिक निधनबाट यस उपशाखा परिवार मर्महात एबम स्तब्ध भएको छ, दुखको यस घडीमा शोकाकुल परिवारजन इष्टमित्र कुलकुटुम्ब छरछिमेकमा धर्यधारण गर्ने शक्ति भगवान पशुपतिनाथ प्रदान गरून् भन्दै स्वर्गीय आत्मको चिरशान्तिको कामनासहित भावपुर्ण श्रद्धाञ्जली आर्पण गर्दछौँ ।’
सरिता श्रेष्ठ फेसबुकमा लेख्छिन्, ‘लेख्ने कुनै शब्द छैन । दाई भाउजू हजुरहरुको आत्मालाई शान्ति मिलोस । भाउजू सपनामा भए पनि मैया भनी बोलाउनु हस् ।’
पूर्वीचितवन टेनिङ सेन्टरको म्यानेजिङ डाइरेक्टर सुमन पौडेलले सामाजिक सञ्जाल फेसबुकमा यसो लेख्छन्, ‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो’ । मेरा अत्यन्तै प्रीय दाजुहरू रोहित र सोहित श्रेष्ठको पुजनीय मातापिताको सडक दुर्घटनामा मृत्यु भएको खबरले अत्यन्त दुखीत एवं स्तब्ध बनाएको छ । दिवगंत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गरून् भनी भगवानसँग प्रार्थना गर्दछु ।’

