चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा आगामी ४० वर्षसम्मको लोड धान्न सक्ने गरी विद्युतको पूर्वाधार बनाउन माग गरेका छन् । उनले नेपाल विद्युत प्राधिकरणका सीईओ कुलमान घिसिङलाई आग्रह गर्दै भने, ‘अहिलेको सब स्टेशनले दुईतीन वर्ष धान्ने र त्यसपछि फेरि समस्या आउन सक्ने भएकाले ४० वर्षसम्म धान्न सक्ने गरी पूर्वाधार बनाउन म यहीँबाट आग्रह गर्दछु ।
आज चितवनको राप्ती नगरपालिकामा निर्मित हर्दी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले
भने, ‘यो १३२ केभी सबस्टेशनले केही वर्ष त धान्छ । तर दुईतीन वर्षपछि फेरि समस्या आउनसक्छ । त्यसैले त्यस नजिकै फेरि अर्को सबस्टेशन बनाउनुपर्छ ।’
मकवानपुर, चितवन र नवलपुरलाई समेटेर विकासको नयाँ मोडेलबारे सोचिरहेको प्रचण्डको भनाइ थियो ।
लामो समयसम्म लोडसेडिङको मार व्यहोर्न बाध्य भए पनि अहिले विद्युत निर्यात गर्ने अवस्थामा आइपुगेको स्मरण गर्दै प्रचण्डले अब विद्युतको मद्दतबाट यातायात, कृषि, शिक्षा, सिंचाइ लगायतका क्षेत्रमा आमूल परिवर्तनको दिशामा अघि बढेको बताए ।

