चितवन । निर्वाचनका समय नजिकिँदै जाँदा चितवनमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चितवनको प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी हेमन्त रावललाई दिइएको छ । उनी चितवन जिल्ला अदालतका प्रमुख हुन् । जिल्लामा प्रमुख निर्वाचन अधिृकत एक जनामात्र हुन्छन् । रावल भरतपुर महानगरपालिकाको निर्वाचन अधिकृत पनि हुनेछन् । सात पालिकामा सात जना निर्वाचन अधिकृत हुन्छन् ।
रत्ननगर नगरपालिकामा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोदकुमार गौतमलाई निर्वाचन अधिृकत बनाइएको छ । इच्छाकामना गाउँपालिकमा ईश्वर आचार्यलाई निर्वाचन अधिकृत तोकिएको छ । आचार्य जिल्ला अदालतका श्रेस्तेदार पनि हुन् ।
खैरहनी नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बागमती प्रदेशका उपसचिव सरस्वती पौडेललाई निर्वाचन अधिकृत तोकिएको छ । कालिका नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीलाई बनाइएको छ ।
माडी नगरपालिकामा जिल्ला समन्वय समिति चितवनका समन्वय अधिकारी चुडामणि शर्मा गौतमलाई निर्वाचन अधिकृतको जिम्मा दिइएको छ । राप्ती नगरपालिकामा जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । निर्वाचन अधिकृत तोकिएसँगै चितवनमा निर्वाचनको थप चर्चा बढ्न थालेको छ ।

