चितवन। मानवसेवा आश्रम चितवनकाे नयाँ भवन शिलान्यास गरिएको छ। भरतपुर महानगरकाे सहयोगमा साे नयाँ भवन निर्माण हुने मानव सेवा आश्रमले जनाएको छ। लक्ष्मी भवन नाम दिईएकाे साे भवनकाे आज भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक कार्यक्रममाविच शिलान्यास गरेकी हुन् ।
२ कराेड २६ लाख ८७ हजार ८ सय ३६ रुपैयाँ लागतकाे साे भवन निर्माणका लागि भरतपुर महानगरले ५० प्रतिशत साझेदारी गर्नेछ। पहिलो चरणमा ९२ लाख र दाेस्राे चरणमा वाँकी रकम गरी भवनकाे निर्माण सम्पन्न गरिने छ। साे भवनमा ४ वटा हल र आठवटा अन्य काेठा निर्माण हुनेछन्। साे भवनकाे कूल क्षमता ६० व्यक्तिको रहनेछ । मानव सेवा आश्रमले ६ महिनाभित्रै भवन निर्माण सम्पन्न हुने जनाएको छ।
कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले विपन्न ,गरिवी र बिबिध कारणले सडकमा पुगेका व्यक्तिहरु मानवसेवा मार्फत समाजमै पुनःस्थापन हाेस् भन्ने चाहनाका कारण महानगर लागिपरेको बताइन् । सडकका मानवकाे व्यवस्थापन पनि सुन्दर शहरकाे घाेतक भएको उनको भनाइ थियाे। कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले महानगर सन्तुलित बिकासमा लागिपरेको बताए । साे अवसरमा चितवन प्रहरी प्रमुख नवराज अधिकारी ,समाजसेवी टंकनाथ पाैडेल,जग्गादाता प्रेमकुमार श्रेष्ठ लगायतले भरतपुर महानगरले किकासमा फड्काे मारेको भन्दै प्रशंसा गरेका थिए।

