चितवन। चितवनको भरतपुर महानगरपालिकाका १२ की पार्वती कुँवर सुवेदी हिजोआज फर्निचर व्यवसायमा व्यस्त छन्। उनको दिनचर्या काठ, प्लाइहरुमा किलाकाँटी ठोकेर, कलर गरेर बितिरहेको हुन्छ । हिजो खाएको जागिरमा बसिरहेको भए सायद उनी कुनै फाइनान्सियल कम्पनीको एक कर्मचारीमा मात्र सीमित हुने थिइन् । तर आज उनी आफ्नै फर्निचर व्यवसायको मालिक बनेकी छन् ।
आत्मनिर्भरको बाटो रोज्दै काठ, प्लाइ र किलाकाँटीसँग मितेरी गाँसेकी पार्वती अहिले किलाकाँटी ठोकेर मासिक लाखौँ आम्दानी गर्छिन ।उनी विगत २० वर्षदेखि फर्निचर व्यवसायमा आवद्ध छिन् । बिहान साँझ घरको कामधन्दासँगै व्यवसाय पनि धानेकी छन् । नेपाली युवाहरु मासिक ५० हजारको कमाइको लागि मरुभुमी पसिना बगाइरहेका छन्, तर उनी स्वेदशमै बसेर परिवारसँग रमाएर मासिक डेढ लाखदेखि ३ लाख सजिलै टिपिरहेकी छन् । व्यवसायसँगै घर बाहिर काम र विभिन्न संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सामाजिक क्षेत्रमा समेत उनी अघि बढ्दै छिन् ।
धेरै महिलाहरु पछिल्लो समय आत्मनिर्भरको बाटो खोज्दै उद्योग व्यवसायमा पाइला सुरु गरेपनि त्यसलाई निरन्तरता दिन नसकेर व्यवसायबाटै विस्थापित हुने गर्छन् । तर कुवँर भने व्यवसायिक रुपमा निरन्तर लाग्ने अठोटका साथ अघि बढेकै कारण लक्ष्य प्राप्त गर्न सफल भएको बताउँछिन् ।
उनले २०५८ सालमा भरतपुर–१२ स्थित पोखरेली टोलमा सन्देश फर्निचर उद्योग दर्ता गरी व्यवसाय सुरु गरेकी हुन् । दुई दशकअघि उद्योग व्यवसायमा आवद्ध महिलाहरुको संख्या एकदमै न्यून थियो । अझै फर्निचर व्यवसायमा त झन चामलमा बियाँ खोज्नु जस्तै थियो । उसो त नेपालमा दुई दशकअघि फर्केर हेर्दा लिङ्गको आधारमा कामलाई हेर्ने समाजको दृष्टिकोणनै फरक थियो । पुरुषहरुले गर्ने काम महिलाहरुले गर्न सक्दैनन् भन्ने मान्यतालाई चिर्दै उनी फर्निचर व्यवसायमा होमिन् । उनी भन्छिन्, ‘हामीले फर्निचर व्यवसाय सुरु गर्दा यस क्षेत्रमा फर्निचर नै थिएनन् । घरहरु निर्माणका काम भइरहन्थे ।’
नेपाली युवाहरु मासिक ५० हजारको कमाइको लागि मरुभुमी पसिना बगाइरहेका छन्, तर उनी स्वेदशमै बसेर परिवारसँग रमाएर मासिक ३ लाख सजिलै टिपिरहेकी छन् ।
बस्ती बाक्लो बन्दै गर्दा घरका लागि चाहिने झ्यालढोका लगायतका सामग्रीहरु लिन टाढा जानुपर्ने अवस्था थियो । सुविधा पनि दिने, र महिलाले पनि पुरुषको जस्तो काम गर्न सक्छन् भन्ने देखाउन मैले आँट गरेको हो । महिलाले पनि यस्तो खालको व्यवसाय गर्न सक्छन् भन्ने उदारण पस्कने उद्देश्यले व्यवसाय सुरु गरेको उनी बताउँछिन् । अहिले यही व्यवसाय नै पहिचान बनाइदिएको छ।

फर्निचर व्यवसायले नामसँगै आर्थिक पाटोमा पनि उचाइ दिएको कुवँर बताउँछिन् । उनी हाल उद्योग संग चितवनको महिला उद्यमी मञ्चकी अध्यक्ष तथा फर्निचर व्यवसाय संघकी सदस्य समेत हुन् ।
फर्निचर व्यवसाय सुरु गर्नुअघि कुँवर एक संस्थामा आवद्ध थिइन् । १८ वर्षको उमेरमै फाइनान्सियल कम्पनीमा जागिर खाएकी उनले जागिरलाई माया मारेर काठ अनि किलाकाँटी समातिन् ।
जागिरले आफ्ना सामान्य आवश्यकता पनि परिपूर्ति गर्न नसक्ने भएपछि पार्वतीले फरक खालको व्यवसायमा लाग्ने निधो गरी फर्निचर सुरु गरेकी थिइन् । ‘२०५५ सालमा जागिर खाँदा मेरो तीन हजार रुपैयाँ तलब थियो, जुन तलबले मलाई खान लगाउन पनि पुग्थेन, अहिले म मासिक तीन लाख रुपैयाँ सजिलै कमाउँछु, मेरा श्रीमान्, दुई छोराछोरी हामी सबै खुसी छौँ’ उनले भनिन्, ‘अहिले मजस्ता अन्य महिलालाई पनि उद्यमी बनाउन लागिरहेकी छु ।’

कुवँरले आफन्तको सहयोगमा ५ लाख रुपैयाँ ऋण लिई व्यवसाय सुरु गरेकी थिइन् । २० वर्षमा उनको उद्योगको पूँजी एक करोड नाघेको छ। उनी भन्छिन् , ‘पहिलाको तुलनामा अहिले फर्निचर व्यवसायमा प्रतिश्पर्धा बढ्दै गएको छ । व्यवसायको हिसाबले हेर्ने हो भने कैयौँ गुणा राम्रो भएको छ । प्रविधिको प्रयोग बढ्दै गर्दा काम गर्ने वातारण सहज हुन थालेको छ ।’ तुलनात्मक रुपमा हेर्ने हो भने उत्पादनका लाग्ने लगानी पनि १० गुणा बढेको उनको भनाइ छ ।
कुँवरका अनुसार सुरुवाती चरणमा ३०० देखि ४०० रुपैयाँसम्म पर्ने प्रति किरी काठ अहिले ६ हजार रुपैयाँसम्म पुगेको छ । उनी भन्छिन् ‘समयको परिवर्तनसँगै आधुनिकता भित्रिएको छ । घर तथा कार्यालय सजाउनका लागि फर्निचर मानिसहरुकोे अत्यावश्यक वस्तुमा पर्न थालेको छ । महँगी उत्तिकै बढिरहेको छ । सुरुवाती चरणमा हामीले एक हजार रुपैयाँमा बेच्ने पलङ अहिले ३० हजारभन्दा माथि पर्न जान्छ ।’
उनका अनुसार सुरुवातमा पाँच जनालाई रोजगारी दिएको उद्योगले अहिले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। यहाँ उत्पादित सामग्रीहरु चितवन लगायत आसपासका जिल्ला धादिङ, नबलपुर, नवलपरासी, तनहुँ, दाङ र पोखरासम्म पुग्ने गरेको कुवँर बताउँछिन् ।

केही वर्ष यता नेपालमा विदेशी ब्राण्डका फर्निचरको बढ्दो आयातले स्वदेशी उत्पादनमा दखल पुर्याउन सक्ने भन्दै स्वदेशी उत्पादनलाई बढाउन र विस्तार गर्न सरकारले सहयोग गर्नुपर्ने कुवँर बताउँछिन् । नेपालमा फर्निचर व्यवसाय नहुँदा बाहिरी मुलुकका कालिगढ ल्याउनुपर्ने र युवाहरु बेरोजगारको समस्याले गर्दा खाडी पस्न बाध्य छन् । युवा बेरोजगारको संख्या कम गर्न र नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म विस्तार गर्नका लागि सरकारले युवाहरुलाई फर्निचर व्यवसायलगायत अन्य व्यवसाय लगाउने रणनीति अपनाउनुपर्ने उनी बताउँछिन् ।

