चितवन। आज बजारमा सुनको मूल्य एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार गत माघ १६ गतेदेखि सुनको मूल्य निरन्तर उकालो लागेको थियो । महासंघका अनुसार विहीबारको तुलनामा आज पनि तोलामा ६०० रुपैयाँ बढेको छ । बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो
त्यस्तै आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघले शुक्रबारका लागि प्रति १० ग्राम छापावाला सुनको मूल्य ८७ हजार ९६५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुन ८७ हजार ५३५ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २१३ रुपैयाँ कायम गरेको छ ।
केही समयअघि कोरोनाले थला पारेको सुनचाँदी व्यवसाय तङ्ग्रिन नपाउँदै पुनः मूल्य वृद्धिको असरले एकातिर चितवनका व्यवसायीमा तनाव सिर्जना भइरहेको छ भने अर्कोतिर सुन किन्ने भन्दा बेच्नेको संख्या अधिक छ ।
नेपालमा एक सातादेखि सुनको मूल्यमा नयाँ रेकर्ड तोडिएसँगै चितवनका मूख्य बजारमा सुनचाँदीको कारोबार ठप्प छ । यतिबेला सुनको मूल्य एक लाख नाघेको छ । बैंकमा तरलता अभाव छ । सर्वसाधारण तथा व्यवसायी आर्थिक संकटमा छन् । मूल्य बढेको मौका छोपी आर्थिक समस्या टार्नका लागि सुन पसलमा सुन बेच्ने ग्राहक बढेको व्यवसायीहरु बताउँछन् ।
केही समयअघि कोरोनाले थला पारेको सुनचाँदी व्यवसाय तङ्ग्रिन नपाउँदै पुनः मूल्य वृद्धिको असरले एकातिर चितवनका व्यवसायीमा तनाव सिर्जना भइरहेको छ भने अर्कोतिर सुन किन्ने भन्दा बेच्नेको संख्या अधिक छ ।
चाडपर्व र विवाहका लगन सकिएको समयमै सुनको मूल्य आकासिँदा बजारमा सुन किन्ने भन्दा बेच्नेको भिड बढ्न थालेको सुनचाँदी व्यवसायी संघ चितवनका उपाध्यक्ष तथा जय सन्तोषी माँ सुनचाँदी पसल मिलनरोड नाराणगढका सञ्चालक रुविन रामुदामुले बताए । उनी भन्छन्, ‘कोभिडका कारण केही समय यस व्यवसायमा ठूलो धक्का पुगेको थियो । अब राम्रो हुन्छ की भन्न आसा थियो । तर, अहिले मूल्य वृद्धि हुँदा कोभिडकोे भन्दा बढी असर पुगेको छ । यस्तै भइरहने हो भने हामी व्यवसायीहरु व्यवसायबाटै पलायन हुने दिन नआउला भन्न सकिन्न ।’
उनका अनुसार सुनको मूल्य बढेपछि बिक्रीमा कमी आएको छ । रसिया र युक्रेनमा भएको युद्धका कारण डलर सामु रसियन रुवल कमजोर हुँदा सुनको मूल्यमा यसको सिधा असर परेको उनको भनाइ छ । सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको उनी बताउँछन् ।
यता लोकमान एण्ड शन्स सुनचाँदी पसलमा नारायणगढमा पनि कारोबार घटेको पसल सञ्चालक शलिनमान शाक्यले बताए । पसलमा अहिले ग्राहहरु सुन किन्न भन्दा बेच्न धेरै आउँछन् । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार पनि प्रभावित भएको हो । आफ्नै ग्राहकको सुन खरीद नगर्ने पनि भएन, बिक्रीको कारोबार कम हुँदा ‘क्यास’को ‘सटेज’ छ ।’ पछिल्लो समय सुनमा लगानी गरेका सुन व्यवसायीलाई निकै मर्का परेको व्यवसायीहरु बताउँछन् ।

