चितवन । सरकारले तोकिएको मितिमा निर्वाचन गराउन सकेको खण्डमा अब स्थानीय तह निर्वाचनको मिति आउन ६६ दिनमात्र बाँकी छ । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । चितवनमा एउटा गाउँपालिका, एउटा महानगरपालिका र ६ वटा नगरपालिका छन् ।
निर्वाचनको मिति नजिकिँदै गर्दा चितवनका सात पालिकाका उपप्रमुखहरु (उपमेयर) प्रमुख (मेयर) को दावी गरिरहेका छन् । यद्यपी पार्टीले टिकट दिन बाँकी रहेको छ । तर सातै जना उपप्रमुखहरुले आफूलाई प्रमुख बन्नलाई बाटो खुलेको संकेत गरेका छन् । निजामति कर्मचारी सेवामा जसरी ‘फाइल बढुवा’ हुनेझै उपप्रमुखहरुले प्रमुखको दावी किन गरिरहेका छन् ? पार्टीभित्र चर्चा परिचर्चा हुन थालेको छ । जनतामा भिजेका, राम्रो काम गरेर देखाएका उपप्रमुखहरुले प्रमुखको दावी गर्नु नपाउनु ? यो पनि फेरि अन्याय हुन्छ । अनुभव देखाएर ‘फाइल बढुवा’झै उपप्रमुख भइसकेपछि प्रमुख बन्न पाउनुपर्छ भन्नु कति जायज हो ?
पालिकाहरुको उपप्रमुखमा दुई पुरुष छन् भने पाँच महिला छिन्। उपप्रमुखमा दुई कांग्रेस र पाँच नेकपा (एमाले) का छन् । भरतपुर महानगर र इच्छाकामनामा कांग्रेसका उपप्रमुख छन् । माडी, खैरहनी, राप्ती, रत्ननगर र कालिकामा नेकपा एमालेका उपप्रमुख छन्। निर्वाचनको समिकरण कसरी जान्छ, त्यसको पर्खाइमा रहेका उपप्रमुख आफ्नो तर्फबाट आफूले नेतृत्व गर्न पाउनुपर्ने दाबीमा छन् । केहीको मनसाय उपप्रमुख नै दोहोर्याउने छ ।
भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हो । पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्ने क्रममा नेतृत्वले स्थानीयस्तरमा अवसर दिने भनेपछि आफू पछि हटेको उनको तर्क छ । उनले भनिन्, ‘“केन्द्रीय सदस्य छोड्दै गर्दा मलाई महानगरको प्रमुखको टिकट दिने आश्वासन छ ।” केन्द्रीय आश्वासन पाएको र पाँच वर्षको अनुभव हासिल गरेकाले आफैले नेतृत्व पाउनुपर्ने उनको दाबी छ ।
निजामति कर्मचारी सेवामा जसरी ‘फाइल बढुवा’ हुनेझै उपप्रमुखहरुले प्रमुखको दावी किन गरिरहेका छन् ? पार्टीभित्र चर्चा परिचर्चा हुन थालेको छ । जनतामा भिजेका, राम्रो काम गरेर देखाएका उपप्रमुखहरुले प्रमुखको दावी गर्नु नपाउनु ? यो पनि फेरि अन्याय हुन्छ । अनुभव देखाएर ‘फाइल बढुवा’झै उपप्रमुख भइसकेपछि प्रमुख बन्न पाउनुपर्छ भन्नु कति जायज हो ?
रत्ननगर नगरपालिकाकी उपप्रमुख बिमला दुवाडी आफ्नो भूमिका नै प्रमुख सरह भएको बताउँछिन्। नेकपा (एमाले) बाट निर्वाचित उनले अबको दाबेदारी स्वतः आफ्नो रहेको बताउँछिन् । उनी भन्छिन्, “उपप्रमुखमा दोहो¥याएर उठ्दा रमाइलो हुँदैन, अनुभव हासिल गरेको छु, भूमिका पनि मेरै हो ।”
माडी नगरपालिका उपप्रमुख ताराकाजी महतोले आफ्नो अनुभवका हिसाबले प्रमुखको दाबी स्वभाविक भएको बताउँछिन् । उनले भनिन्, “पार्टीको निर्णय हामीले मान्नुपर्छ, स्वभाविक रुपमा मेरो दाबी रहन्छ, निर्णय पार्टीको हुन्छ ।” अनुभव र क्षमताको हिसाबले आफूलाई निर्वाचन जित्न सहज हुने उनको दाबी छ ।
राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले अबको निर्वाचनमा प्रमुख पदमा आफ्नो दाबी रहने बताउँछन् । पाँच वर्षको आफ्नो अनुभवलाई सँगाल्दै नगरपालिकाको प्रमुखमा आफ्नो जित सहज हुने विश्वास व्यक्त गर्छन् । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले अबको निर्वाचनमा अध्यक्ष पदमा आफ्नो दाबी रहने बताउँछन् । उनले भने “पार्टीले आफूलाई अवसर दिन्छ भन्नेमा ढुक्क छु ।” नेपाली कांग्रेसबाट निर्वाचित श्रेष्ठले पाँच वर्षमा आफूले उपप्रमुख भएर हासिल गरेको अनुभव प्रमुख बन्नका लागि सहयोगी हुने बताए।
खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता थपलियाले प्रमुखमा आफ्नो दाबी प्रष्ट नभएको बताइन्। उनले पार्टीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने भन्दै आफूले गरेको कामको मूल्याङ्कन पार्टीले गर्नुपर्ने बताउँदै आएकी छन्। उनी नेकपा एमालेबाट निर्वाचित उपप्रमुख हुन् ।
कालिका नगरपालिकाका उपप्रमुख कमला भट्टराईले आफूले उपप्रमुखमै दोहो¥याउने चाहना राखेको बताइन्। उनले भनिन् “नगरपालिकामा पाँच वर्षमा गरेको अनुभवले पुनः एक पटक उपप्रमुखमै भएर काम गर्ने सोचमा छु ।”
‘फाइल बढुवा’जस्तो हुँदैन : एमाले बागमती इन्चार्ज

नेकपा एमाले बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले स्थानीय पालिकामा अहिले भइरहेका उपप्रमुखहरुले प्रमुखको दावी गर्न पाउने बताउँछन् । उनी भन्छन्, ‘सेकेन्ड म्यानले फस्ट म्यान हुन्छु भनेर दावी गर्न त पाइयो, पार्टीले टिकट पनि दिन पर्ला नि । उपप्रमुख हुँदैमा ‘फाइल बढुवा’जस्तो प्रमुखको टिकट पक्का पाइहाल्ने भन्ने हुँदैन । पार्टीले मूल्यांकन गर्छ ।’
उनका अनुसार पार्टीले मूल्यांकन गरेको खण्डमा अहिलेका चितवनका स्थानीय पालिकाका उपप्रमुखले प्रमुखको टिकट पाउन पनि सक्छन्, नयाँ पात्र पनि आउन सक्छ । चितवनका नेतासमेत रहेका अधिकारीले भने, यस विषयमा पार्टीले कुनै मापदण्ड बनाएको छैन, कस्तालाई टिकट दिने या नदिने भनेर छलफल बल्ल पार्टीभित्र सुरु हुन थालेको छ ।’

