चितवन। चितवनमा दैनिक सवारी दुर्घटना बढ्दै गएको छ। शहरी क्षेत्रमा बढ्दो सवारी चाप, ट्राफिक जनशक्तिको अभाव र सडक निर्माणका काममा भएको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै गएका हुन् ।
जनसंख्याको हिसाबले नेपालको तेस्रो ठुलो शहर भरतपुरमा निजि सवारीमा सयर गर्ने मानिसको संख्या पनि पछिल्ला दिनहरुमा निकै वृद्धि भएको पाइन्छ । एक व्यक्तिको एक सवारी छ भन्दापनि फरक पर्दैन । त्यस कारण पनि जिल्लामा सवारी चाप अत्याधिक बढ्न गएको हो । एक त ! सवारीको चाप, अर्को सडकको दुरावस्था । यसले गर्दा हरेक दिन दुर्घटना निम्तिइरहेको छ ।
जिल्लाभर सवारी दुर्घटनाबाट चार वर्षको अवधिमा ५०० भन्दा बढीले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार विगत तीन वर्ष यता १ हजार ५५४ वटा सवारी दुर्घटना भएका छन् । कुल सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या हाल सम्म ५०९ पुगेको हो ।
जसमध्ये ४७२ पुरुष, ८६ महिला र २७ बालक र ११ बालिकाले ज्यान गुमाएका छन् भने ३७ चौपायको समेत मृत्यु भएको छ ।
सडकमा जेब्रा क्रसिङ, नो पार्किङका स्थानहरु व्यवस्थित रुपमा राखिएको छैन् । जिल्लाका मूख्य बजार र चोकमा समेत पर्याप्त जनशक्ति छैनन् । मुख्य सडक मात्रै नभएर भित्री सडकमा पनि ट्राफिक प्रहरी परिचालन गरिनुपर्ने स्थानमा सुरक्षा व्यवस्था अस्तव्यस्त छ ।
पर्याप्त जनशक्तिको अभाव, जनमानसमा चेतनाको अभाव र अव्यवस्थित सडकका कारण सवारी दुर्घटना बढ्दै गर्दा सडक विभागले यसतर्फ ध्यान दिन जरुरी देखिन्छ ।
ट्राफिक प्रहरी चितवनको तथ्यांक अनुसार जिल्लाको त्रिवर्षीय तथ्यांक आर्थिक वर्ष २०७४/७५ मा १५२ जना, २०७५/०७७ मा १४६, २०७६/७७ मा १०७, २०७७/०७८ मा १२८ जनाले ज्यान गुमाएका छन् भने चालु आर्थिक वर्षको ६ महिना अर्थात गत माघ सम्ममा ८३ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् ।
जिल्लाभर सबैभन्दा बढी मोटरसाइकल दुर्घटनाबाट ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ । जिल्ला ट्राफिक कार्यालय चितवनका ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाका अनुसार जिल्लामा सवारीको अत्याधिक मात्रामा चाप र ट्राफिक जनशक्ति कम भएका कारण दुर्घटना बढी हुने गरेको छ ।
चालक अनुमतिपत्र नभएका चालकको लापरबाही र माधक पदार्थ सेवन गर्ने र उच्च गतिमा सवारी चलाउने चालकले गर्दा दुई पाङ्ग्रे सवारीको बढी दुर्घटना भएको उनी बताउँछन् ।
सवारी दुर्घटना कम गर्न अनुशासित भई सवारी नियम पालना गर्नुपर्ने बताउँदै उनी भन्छन्, ‘दुर्घटनाको जोखिम र मृत्युलाई छल्न नसकिने भएकाले सवारी चालक, बटुवा सबैले ट्राफिक नियम पालना गर्नुपर्छ । यसको लागि जिल्लमा जनशक्ति अभाव छ । जिल्लामा कहिले अधिवेशन, कहिले महाधिवेशन र कोभिडका कारण जनचेतनाका कार्यक्रम गर्न सकिएको छैन् ।’
चितवनमा भौगोलिक क्षेत्रफल अनुसारको बजार एरियाको मापन गरी सरकारले निश्चित सवारीलाई अनुमति दिएर अनुगमन गरे सवारी चापसँगै दुर्घटना कम हुने उनले बताए ।

