चितवन। गण्डकी प्रदेशका महिलाले स्त्री प्रजनन अङ्गमा हुने क्यान्सरको उपचारमा रु ५० हजार सहुलियत पाउने भएका छन् । प्रदेश सरकारले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सरसँग यससम्बन्धी सम्झौता गरेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा श्रीराम तिवारीले आज निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार गण्डकी प्रदेशका स्त्री प्रजनन अङ्गसँग सम्बन्धित क्यान्सरको उपचारका लागि प्रदेश सरकारले रु ५० हजार बराबरको छुट दिने भएको हो ।
नेपाल सरकारले उपलब्ध गराउने रु एक लाख खर्च भइसकेपछि गण्डकी प्रदेशका महिलाले यो सुविधा लिन पाउने कार्यकारी निर्देशक डा गौतमले जानकारी दिए । उनले भने, “गण्डकीका महिलाले प्रजनन् अङ्गसँग सम्बन्धित क्यान्सरको उपचार गर्दा नेपाल सरकारको रु एक लाखपछि प्रदेश सरकारको रु ५० हजार सहुलियत पाउने छन् ।”
उहाँका अनुसार स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सरलगायतको उपचारमा यो सहुलियत लिन पाइने छ । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाले यो सुविधा लिन पाइने डा गौतमको भनाइ छ । सचिव डा तिवारीले प्रदेश सरकारको नीतिअनुरुप नै यो सम्झौता गरिएको बताए ।
उनले आगामी वर्षको कार्यक्रममा महिला, पुरुष र बालबालिकामा हुने सबै खालका क्यान्सरमा सहुलियत दिने कार्यक्रम ल्याउने योजना रहेको बताए। उनले भने, “यो सुरुआत मात्रै हो, आगामी वर्षको कार्यक्रममा सबै खालका क्यान्सरमा सबैले सहुलियत पाउने गरी योजना ल्याउँदैछौं ।”

