चितवन।उच्च अदालत पाटनको हेटौंडा इजलासले राजकुुमार चेपाङलाई कुटपिट गर्ने सैनिकलाई जन्मकैदको फैसला गरेको छ ।
चितवन अदालतको फैसला उल्टाउँदै उच्च अदालतले जन्मकैद फैसला गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको जंगलमा घुँगी टिप्न गएका राजकुमार चेपाङलाई कुटपिट गर्ने एक सैनिकलाई जन्मकैदको फैसला गरेको हो ।
न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो ।
जिल्ला अदालतले बुढालाई ९ महिना कैद र ९ हजार जरिवाना हुने फैसला गरेको थियो । त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतले आइतबार हुद्दा बुढामाथि जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय २५ वर्षको हुन्छ ।
२४ वर्षीय राजकुमार चेपाङ सहितको टोली घुगी खोज्ने क्रममा चितवन राष्ट्रिय निकुञ्जको लिगलिगो पोष्ट नजिकैको ज्यूडी खोलामा गएको थियो । त्यसक्रममा सैनिक टोलीले उनी लगायतलाई नियन्त्रणमा लिएर ब्यारेकमा ल्याई कुटपिट गरेका थिए ।
कुटपिटपछि गम्भिर घाइते भएका राजकुमारको ८ दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो ।

