चितवन।चितवनका विद्यार्थीले यतिबेला धमाधम कोरोना भाइरसविरुद्धको मोर्डना खोप लगाइरहेका छन् । माघ २७ गतेसम्म खोप लगाउने समय छ ।
हालसम्म चितवनका ७ पालिकामा खोप लगाउने विद्यार्थीको संख्या ५४ हजार ६५२ पुगेको छ । चितवनका ७ पालिकाका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले खोप लगाइरहेका छन् । खैरहनी नगरपालिकाका विद्यार्थीले यस अघि नै खोप लगाइसकेका छन् । खैरहनीका ५ हजार बढी विद्यार्थीले यसअघि नै खोप लगाइसकेका छन् । यसअघि खैरहनी नगरपालिकामा छुटेका ४८४ विद्यार्थीले खोप लगाएका छन्।
भरतपुर महानगरमा खोप लगाउने विद्यार्थीको संख्या ३१ हजार ८९१ पुगेको छ । यस्तै, माडी नगरपालिकामा ३ हजार ११४, रत्ननगर नगरपालिकामा ८ हजार ७१६ , राप्ती नगरपालिकामा ४ हजार ६४३, कालिका नगरपालिकामा ३ हजार ६५३ र इच्छाकामना गाउँपालिकामा २ हजार २५२ जनाले खोप लगाइसकेका छन् ।
आज बिहिबार पनि चितवनका ७ पालिकाका विद्यालयहरुमा खोप कार्यक्रम चलिरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । १२ देखि १७ वर्ष उमेर समूहका २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयहरुमा खोप केन्द्र राखिएको छ ।
फागुन १ गतेदेखि भौतिक रुपमा विद्यालय खुलाउने प्रस्ताव त शिक्षा मन्त्रालयमा पुगेको छ, तर विद्यालय खोल्ने या नखोल्नेमा कुनै निर्णय भइसकेको छैन ।

