चितवन। चितवनका दुग्ध उत्पादक किसानले दूधको मूल्य बढाउन सरकारलाई दबाब दिएका छन्। दबाबमात्र होइन, उनीहरुले दूधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी दिएका छन्। दूधको मूल्य बढाउन सरकारले चौतर्फी दबाब भोग्नु परेको छ । दूधको मूल्य बढेमा उपभोक्ताको भान्साघरको खर्च बढ्ने पक्का छ।
उपभोक्ता हाल प्रतिलिटर ८० रुपैयाँमा दूध किनेर खाइरहेका छन् । भैँसीको दूध अझ १०० रुपैयाँ लिटरसम्म पर्ने गरेको छ । दूधको मूल्य बड्दा उपभोक्ता थप मारमा पर्ने भएका छन्। कोरोनाको कहरमा उपभोक्ताको खर्च झन् बढ्ने देखिन्छ ।
यता किसानको दःख पनि आफ्नै छ । लागत मूल्य पनि उठ्दैन दूध बेचेर । सर्सती हेर्ने हो भने दूधको मूल्य कम नै हो, तर उपभोक्ताको ढाड सेक्ने गरेर दूधको मूल्य बढाउन उचित छैन । सबै उपभोक्ता क्षमतावान् पनि छैनन् । सरकार किसानका लागत घटाउनतर्फ लाग्नुपर्छ, दूधको मूल्य बढाउन होइन । पराल, औषधि, घाँस, दानाचोकर सबैको मूल्य सरकारले घटाए दूधको मूल्य बढाउनै पर्दैन, तर दानाचोकरदेखि परालसम्मको मूल्य बढेका कारण किसानको दूधले लागतसमेत उठाउन नसकेको हो, जसका कारण किसान मूल्य बढाउन दबाब दिइरहेका छन् ।
किसानले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो ।
दूधको मूल्यमा प्रतिलिटर रु १५ देखि २० सम्म बढाउनुपर्ने चितवनका किसानको माग छ । केन्द्रीय दुग्ध उत्पादक संघले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउन सरकारलाई दबाब दिएको छ । चितवन जिल्ला उत्पादक सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए । सरकारले एक लिटरमा रु १० मूल्य बढाएर किसानलाई रु सात र डेरी उद्योगीलाई रु तीन दिने तयारी गरेको बताइएको छ ।
उनका अनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२.५० पर्ने गरेको छ । पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उनले बताए। अध्यक्ष न्यौपानेले भने, “दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर रु ६३ किसानको पर्ने गरेको छ । त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ ।” सरकारले तीन वर्षदेखि दूधको मूल्य बढाएको छैन ।
हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यसबाट दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । ४३ प्रतिशत दूध बाहिरी जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने सङ्घले जनाएको छ । सङ्घले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य वस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ ।

