गण्डकी।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको बताउनुभएको छ। सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गर्नुभएको छ ।
लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको सन्देशमा भनिएको छ ।
सहिदको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको सबैभन्दा ठूलो र महत्वपूर्ण जिम्मेवारी रहेको उहाँको भनाइ छ । देशमा स्वच्छ राजनीतिक संस्कारको विकास तथा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने सोचसहित अघि बढ्नु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्दै सन्देशमा सहिदको त्याग र बलिदानको कदरका लागि प्रदेश सरकार सदा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

